काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको अनौठो तर्क गरेका छन् ।
नेकपा धनकुटाको केपी ओली पक्षले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले पार्टी विभाजन हुँनुमा राजावादीको मुख्य भूमिका रहेको आरोप लगाए ।
राजावादीहरूकै षड्यन्त्रका कारण नेकपाभित्र विवाद निम्तिएको थापाको दाबी छ । ‘जब हामीले देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्यौं, त्यही बेलादेखि प्रतिगामी शक्तिहरूले कसरी आफ्नो गुमेको सत्ता र शासनलाई पुनर्स्थापित गर्ने भनेर षड्यन्त्र थालेका थिए,’ थापाले भने, ‘नेकपा एकतावद्ध भएर मुलुक समृद्धिको दिशातर्फ अघि बढ्न थालेपछि नेकपालाई विभाजन नगराई आफ्नो शासन सत्ता नफर्कने देखेर पार्टीभित्रका कमजोरीलाई केलाउन थाले । नेकपाभित्रका असन्तुष्ट समूहलाई उक्साएर उत्तेजित बनाएर पार्टी विभाजन गराउन सफल भए ।’
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन नपाएर असन्तुष्ट हरेका अवसरवादीहरूलाई उचालेर राजावादीले चलखेल गरेको थापाको तर्क छ । राजावादीको ‘डिजाइन’ अनुसार नै प्रचण्डको १९ पेजको आरोपपत्र आएको दाबी गर्दै थापाले प्रतिगामी र अवसरवादीसँग आत्मासमर्पण गरेर प्रधानमन्त्री पद त्याग्नुभन्दा संसद् विघटन गुर्न उत्तम भएकाले प्रधानमन्त्री ओलीले नयाँ जनादेश रोजेको बताएका छन् ।
नेकपा विभाजन हुँदा मुलुकमा अस्थिरता आउने भएकाले सहपार्टीदेखि सबै जनता विभाजनप्रति असन्तुष्ट रहेको भए पनि राजतन्त्र फर्काउने षड्यन्त्र गरिरहेका प्रतिगामी शक्तिहरूले खुसीयाली मनाइरहेका थापाले बताएका छन् ।
पार्टी औपचारिक रूपमा विभाजन भई नसकेको भए पनि व्यावहारिक रूपमा फरक भएको भन्दै गृहमन्त्री थापाले मुलुकको सबैभन्दा ठूलो शक्ति विभाजन हुँदा मुलुक अस्थिरतातर्फ धकेलिएको बताएका छन् । मुलुकमा राजनीतिक स्थिरताले मात्र समृद्धि र विकास हुने बुझेर जनताले नेकपालाई दुईतिहाइ मत दिएको भए पनि पार्टी विभाजनका कारण अहिले मुलुकको समृद्धि र विकासको यात्रा अवरुद्ध भएको थापाले बताएका छन् ।
नेकपा सचिवालय सदस्य समेत रहेका थापाले प्रतिगामीहरूको षड्यन्त्रका कारण पार्टी विभाजन भएकाले यसको चुरो कुरो बुझेर पुनः कम्युनिस्ट पार्टी एक भई अघि बढ्नुपर्ने आवश्यकता समेत औल्याएका छन् ।
करीब आधा घण्टा भाषण गरेका थापाले अधिकांश समय पार्टी विभाजनको दोष राजावादीलाई लगाउनमै समय खर्चिएका थिए । भाषणमा उनले राजावादी शब्द कम प्रयोग गरी प्रतिगामी शक्तिको रूपमा चित्रण गर्दै प्रतिगामीहरूकै कारण नेकपा विभाजन भएको र यसप्रति सचेत हुनुपर्ने धारणा राखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।