काठमाडौं – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा स्थायी सदस्य राष्ट्रहरूको संख्या थप गरी भारतलाई समावेश गर्न नेपालले समर्थन गर्ने भएको छ ।
परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा नेपालले भारतलाई सघाउने प्रतिबद्धता जनाएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको अध्यक्षतामा बसेको बैठकपछि जारी संयुक्त वक्तव्यमा नेपालले सघाउने कुरा उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘बदलिएको शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्न नेपालले संयुक्त राष्ट्रसंघको विस्तारित सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि समर्थन जनाएको छ ।’
भारतले लामो समयदेखि सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा मान्यता पाउन प्रयास गरिरहेको छ । तर हरेक पटक उसको प्रयासमा चीन अवरोधको रूपमा खडा हुने गरेको छ । चीनले भारतलाई रोक्न विरोध गर्दै आएको छ ।
हाल १५ सदस्यीय सुरक्षा परिषद्मा ५ जना स्थायी सदस्य रहेका छन् । जसमा चीनसहित अमेरिका, फ्रान्स, रुस र बेलायत रहेका छन् । यी ५ राष्ट्रसँग ‘भिटो’ प्रयोग गर्ने अधिकार हुन्छ, जसले कुनै पनि संकल्प प्रस्ताव वा परिषद्मा नयाँ राष्ट्रको प्रवेशलाई रोक्न सहयोग गर्छ । बाँकी १० अस्थायी सदस्य राष्ट्र भने क्षेत्रीय हिसाबले हरेक २ वर्षको कार्यकालका लागि चुनिन्छन् । भारत हाल सुरक्षा परिषद्को अस्थायी सदस्यको रूपमा रहेको छ । जनवरी १, २०२१ बाट भारतको २ वर्षे कार्यकाल सुरू भएको छ ।
लामो समयदेखि भारत, जर्मनी, जापान र ब्राजिल सुरक्षा परिषद्मा स्थायी सिट हासिल गर्न प्रयासरत छन् । बदलिएको परिस्थितिमा सुरक्षा परिषद्को पुनःसंरचना आवश्यक रहेको उनीहरूको तर्क छ । तर चीनले भने यसको औचित्यमाथि प्रश्न उठाउँदै आएको छ ।
चीनले विरोध गर्दै आएको विषयमा सरकारले समर्थन जनाउनु प्रधानमन्त्री केपी ओली र चीनबीचको सम्बन्ध चिसिएको संकेत गरेको विश्लेषकहरू बताउँछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनदेखि नै सो पार्टी र पार्टी नेतृत्वको सरकार चीनप्रति ढल्किएको टिप्पणी हुने गरेको थियो । तर अहिले पार्टी विभाजनसँगै नेकपाको ओली समूह पुनः भारत निकट हुन पुगेको टिप्पणीहरू हुन थालेका छन् ।
पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला चीनले पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न सुझाव दिएसँगै उनी चीनसँग रुष्ट बनेको बताइएको छ । प्रधानमन्त्री ओलीले आफूलाई अप्ठ्यारोमा पारिएको भन्दै प्रतिनिधिसभा नै भंग गरिदिएपछि यतिबेला नेकपा औपचारिक रूपमा मात्रै फुट्न बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।