काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गरिरहेको देशमा भ्रष्टाचारै भ्रष्टाचार रहेको बताएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलो पटक शुक्रवार समिति बैठकमा सहभागी हुँदै नेता गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको गुनासो गरे ।
देशमा भ्रष्टाचार समाप्त पार्ने गरी ओली सरकारले कुनै प्रभावकारी कदम नचालेको समेत उनले बताए । ओली सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि घोषणाअनुसार व्यवहारमा नदेखिएको गौतमले उल्लेख गरे ।
भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानून, नियमावली बनेको भए पनि लागू हुन नसकेको समेत गौतमले बताए । गौतमले प्रकृतिमा रहेका सबै प्राणीको अन्तर्निहित सम्बन्ध नबिगारीकन विकास गर्नुपर्ने समेत बताएका छन् ।
राष्ट्रियसभा सदस्य गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने समेत बताएका छन् । ‘एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने ।
नेकपा विभाजित भएपछि प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै पनि पक्षमा नलागेका गौतमले एकताका लागि छुट्टै अभियान घोषणा गर्दै आफू संयोजक बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।