काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले कानूनतः विभाजित नभए पनि सारमा पार्टी विभाजित भएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिए एकताको सम्भावना रहेकोे बताए ।
उपप्रधानमन्त्री पोखरेलले आरोपपत्र फिर्तासँगै प्रचण्ड–नेपाल पक्षले सरकारले बैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचनलाई स्वीकारेर आएमा एकता हुनेमा दुईमत नरहेको उनले बताए ।
उनले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले कार्यकर्तालाई पार्टी आधिकारिकता र सूर्य चिह्नबारे धेरै चिन्ता लिन आवश्यक नरहेको बताउँदै भने, ‘प्रम ओलीले नेतृत्व गरेको पार्टी नै नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक पार्टी हो, सूर्य चिह्न पनि आधिकारिक पार्टीको हुन्छ, तपाईंहरूले धेरै चिन्ता लिनुपर्दैन ।’
उनले प्रचण्ड–नेपाल पक्षले हाँस्यास्पद मुद्दा झिकेर पार्टीमा लफडा गरेकै कारण संसद् विघटन गर्नुपर्ने परिस्थितिको सिर्जना भएको आरोप लगाए । निर्वाचन आयोगले निर्वाचनको तयारी शुरू गरिसकेको अवस्थामा प्रचण्ड–नेपाल पक्षले जनतासँग डराएर चुनाव रोक्न दबाब दिएको उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।