काठमाडौं – प्रतिनिधिसभा संसद विघटन गरेर आलोचित बनेको कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भोलि अझै अप्रिय कदम चाल्न सक्ने खुलासा नेपाली कांग्रेसका चर्चित युवा नेता, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले गरेका छन् ।
ओली सरकारले कुनै पनि बेला प्रदेश र पालिकाहरू खारेज गर्न सक्ने नेता थापाले बताए ।
हिजो बुधवार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदम ठीक छ भनिरहँदा प्रदेश र पालिका भंग गर्न सक्ने भएकाले सजक हुनुपर्ने बताएका छन् ।
दलहरूले १० वर्ष लगाएर बनाएको संविधानलाई ओली नेतृत्वको सरकारले अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्ने नेता थापाले बताए ।
ओलीले चालेका गलत कमदलाई सच्याएर अदालतले ठीक ठाउँमा ल्याउने र जनताबाट स्थापित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा अदालतले निर्णय गर्ने उनले बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय र न्यायाधीशहरूलाई धम्क्याएर प्रभावमा पार्ने काम मात्र गरेका छैनन्, अन्य क्षेत्रका व्यक्तिहरूलाई पनि धम्क्याउने काम गरेका छन्,’ थापाले भने ।
प्रधानमन्त्रीसँग उनको पार्टीका जोकर कार्यकर्ता र विवेक नभएको व्यक्ति मात्र डराउने भन्दै थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको भावना अनुसार चल्न सुझाव दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।