काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाइरहेका बेला नेकपा विभाजित गरेर छुट्टिएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगबाट धक्का लागेको छ ।
विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आगामी बैशाखमा घोषित निर्वाचनको तयारी रोक्न माग गर्दै निर्वाचन आयोग पुगेपनि आयोगले तयारी नरोक्ने जनाएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको दाबी गर्दै प्रचण्ड–नेपाल पक्षले चुनावको तयारी रोक्न सोमबार निर्वाचन आयोगसँग आग्रह गरेको थियो ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सोमबार अकस्मात निर्वाचन आयोग पुगेर बैशाखका लागि तोकिएको निर्वाचनको तयारी रोक्न आग्रह गरे । आयोगले भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट बैशाख १७ र २७ गते निर्वाचन गर्ने निर्णय भइसकेकाले आयोगले सोही निर्णय मानेर तयारी गर्ने जनाएको छ ।
नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोगसँग तयारी रोक्न आग्रह गरिएको बताएका छन् । ‘प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र यसविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट मुद्दाको टुंगो नलाग्दासम्म प्रक्रिया रोक्न आग्रह गरेका छौं,’ उनले भने ।
निर्वाचन घोषणा भएपछि चुनावको तयारी थाल्नु आफूहरूको कर्तव्य भएको भन्दै तयारी रोक्न नसकिने आयोगले जानकारी दिएको छ । हौसिएर निर्वाचन आयोग पुगेका प्रचण्डलाई त्यहाँ पनि झड्का लागेको छ ।
सरकारले वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेर तयारी गर्न आग्रह गरिसकेका कारण तयारी रोक्न नमिल्ने जवाफ आयोगले प्रचण्ड–नेपाल पक्षलाई गराएको छ । पुस ५ गते प्रतिनिसभा विघटन गरेर सरकारले बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेको छ ।
नेकपाको आधिकारिकता विवाद समेत निर्वाचन आयोगमा विचाराधीन रहेको छ । प्रचण्ड–नेपाल पक्षले आफू नै आधिकारिक नेकपा भएकाले चुनाव चिह्न सूर्य आफूहरूले पाउने दाबी गर्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।