काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच खुब तालमेल मिलेको देखिएको छ । प्रधानमन्त्री ओलीको सामान्य इशारामा समेत राष्ट्रपति भण्डारीले फटाफट निर्णय गर्ने गरेकी छन् ।
आईतबार समेत त्यस्तै घटनाक्रम दोहोरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकमा खुट्टा टेकेर सम्बोधन गरेकै दिन राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अधिवेशन अन्त्य गरेकी छन् ।
पुस १७ गतेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएर आईतबार मध्यरातिदेखि अन्त्य गरिएको छ । अधिवेशन सुरू भएपछि १० दिनको अवधिमा ४ दिन बैठक बसेको छ । राष्ट्रियसभा अधिवेशनको बैठक अवधि ७ घण्टा ५ मिनेट रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताए ।
राष्ट्रपति भण्डारीबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरू राष्ट्रिय सभामा पेश भएका छन् । संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन तथा सुपरीवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश अधिवेशन नचलेको अवस्थामा राष्ट्रपतिबाट जारी भएका थिए ।

अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र आईतबार राष्ट्रिसभा बैठकमा वाचन गरेर सुनाइएको छ । पत्रमा आईतबार राति १२ बजेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुने जनाइएको छ ।
मन्त्रिपरिषद्को आईतबारै बसेको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को बैठक बस्नैपर्ने कानूनी बाध्यता समेत रहेको छ । अब ६ महिना संसद नबसी प्रधानमन्त्री ओलीले सरकार चलाउन पाउने भएका छन् । ओली सरकारले आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।