सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

बामदेवले ‘बेकार’को एकता जप्दा यस्तो फाइदा, के छ स्वार्थ र साँठगाँठको रहस्य ?

बामदेवले ‘बेकार’को एकता जप्दा यस्तो फाइदा, के छ स्वार्थ र साँठगाँठको रहस्य ?

  • मिडिया डबली
  • आइतवार, पौष २६ २०७७

  • 4.6K
    SHARES

  • बामदेवले ‘बेकार’को एकता जप्दा यस्तो फाइदा, के छ स्वार्थ र साँठगाँठको रहस्य ?

    काठमाडौं – पुस ७ गते प्रचण्ड–नेपाल पक्षको नेकपाले पार्टीको १ नम्बर वरीयताका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर केन्द्रीय सदस्यमा सीमित बनायो । माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो ।

    पुस ९ गते ओली पक्षको नेकपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्षको कार्यकारी जिम्मेवारीबाट मात्र हटायो, अध्यक्ष पदमा यथावत् राख्यो ।

    पुस १४ गते आफ्नो पक्षको शक्ति प्रदर्शनमा नेपालले भृकुटी मण्डपबाट भने, ‘हामीले केपी ओलीलाई अध्यक्षबाट मात्र हटाएको हो, सच्चिएर आउँछन् भने पार्टीले अझै स्वागत गर्न तयार छ ।’

    पुस १४ गते नै कपिलवस्तुमा ओली पक्षका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘प्रचण्डको आरोपपत्र फिर्ता हुन्छ भने पार्टी एक हुने सम्भावना रहन्छ ।’ यही कुरा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि भनिरहेका छन् ।

    पुस १५ गते प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका नेताहरूले काठमाडौंमा गरेको भेलामा भने, ‘उहाँहरु आउनुहुन्छ र चुनाव लडेर अध्यक्ष लिनुहुन्छ भने म नेतृत्व छोड्न तयार छु ।’

    शुक्रवार राष्ट्रिय सभामा नेकपा सचिवालय सदस्य समेत रहेका प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ थियो, ‘प्रधानमन्त्रीज्यू प्रतिनिधिसभा विघटन गलत थियो भनेर आत्मआलोचना सहित आउनुहुन्छ भने नयाँ सिलसिला सुरू हुन्छ ।’

    आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष बामदेव गौतमले शनिवार ‘नेकपा एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन् र त्यसको संयोजक आफैं भए । दुबै पक्षका नेकपा नेताहरूको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा हुन थालेको छ – फेरि नेकपाको एकता सम्भव छ ?

    पार्टीको सिद्धान्तभन्दा पनि पदीय भागबण्डा नमिलेर नेकपा विभाजनको आधार खडा भएकाले त्यसमा अलिकति मात्र मेहनत गरे पार्टी एक हुन सक्ने आँकलन गौतमको छ । उनले १–२ दिनमै अभियानका ५५१ सदस्य र एकताको आधारपत्र सार्वजनिक गर्ने अभियानमा सहभागी नेता हरि पराजुलीले बताएका छन् । उनका अनुसार ती सबै नेकपाकै नेता–कार्यकर्ता हुन्, कतिपय केन्द्रीय सदस्य छन् ।

    ‘मुख्यतः पार्टी कसरी एक भएको थियो र कसरी विभाजनको चरणमा पुग्यो भन्नेमा हामी जोड दिन्छौं,’ पराजुलीले भने, ‘सिद्धान्त नमिलेरभन्दा पनि भागबण्डा नमिलेर पार्टी फुट नजिक पुगेको हो, मिलाउने उपायसहित कार्यक्रम ल्याउँदैछौं ।’

    पराजुलीका अनुसार आ–आफ्ना कमीकमजोरी सच्याउन अभियानले दुबै पक्षलाई आह्वान गर्नेछ । पार्टी एक बनाउन विधान संशोधन र एक व्यक्ति एक मुख्य जिम्मेवारीको कुरालाई प्राथमिकताका साथ उठाइने छ ।

    ‘अहिलेको विभाजनमा नीति र विचार देखिन्न, अहिले उठाइएको समस्याको जडमा देखाइएको विधि–पद्धतिलाई विधानमा संशोधन गर्ने हो, त्यसैले विधान संशोधन गर्ने हाम्रो पहिलो प्रस्ताव हुनेछ,’ उनले भने, ‘साथमा एक व्यक्ति एक पदको कुरालाई जोड दिइने छ । दुबै पदमा बसेका कोही कमरेड हुनुहुन्छ भने कुन पदलाई मुख्य मान्ने हो, कुन पदलाई मुख्य होइन भन्ने परिभाषा पनि गरिने छ । २ अध्यक्षको अन्तिम निर्णय भन्ने वैधानिक व्यवस्था जहाँ गरियो, त्यहीँबाट समस्याको सुरूवात भएको छ, अब कमिटीको निर्णय नै सर्वेसर्वा हुने गरी पार्टी एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो ।’

    गौतम सहितका नेताले २०५४ सालमा तत्कालीन एमाले फुटाएर माले बनाएका थिए । त्यतिखेर महाकाली सन्धिको विपक्षमा रहे पनि कालान्तरमा गौतमले त्यही मुद्दा छोडेका थिए । भर्खरै उठ्न थालेको कम्युनिस्ट आन्दोलन एमाले विभाजन हुँदा तितरबितर भएको थियो । २०५६ सालको चुनावमा गौतम नेतृत्वको मालेले १ सिट पनि नजितेपछि उनी सहितको एउटा ठूलो हिस्सा एमालेमै फर्किएको थियो, उत्तिकै संख्याका कार्यकर्ता तत्कालीन भूमिगत पार्टी माओवादीमा लागेका थिए ।

    त्यसपछि गौतमले बारम्बार कम्युनिस्ट पार्टी १ हुनुपर्ने आवाज उठाउँदै आएका थिए । गौतमले एमाले र माओवादी केन्द्रको मिलनमा पनि आफूले भूमिका खेलेको बताउँदै आएका छन् । शनिवार जारी गरेको अपिलमा गौतमले पार्टी विभाजनको यो अवस्थालाई दुःखद् र पीडादायी भनेका छन् ।

    ‘नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रूपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरूको समाधान गर्न नसक्नाका कारण विभाजनउन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरूको अयोग्यताको द्योतक हो,’ गौतमले अपिलमा भनेका छन्, ‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेता यदि पुनः एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।’

    व्यवहारतः नेकपा विभाजन भइसकेको छ । तर पार्टीका दुबै पक्षले विभाजनको औपचारिक निवेदन निर्वाचन आयोगमा दिइसकेका छैनन् । आयोगले दुबै पक्षलाई बारम्बार ताकेता गर्दा पनि उनीहरूले पार्टी नफुटेको बताउँदै आएका छन् । वैधानिक रुपमा यी दुबै पक्षको एउटै पार्टी भएकाले प्रचण्ड–नेपाल पक्षलाई अझै सत्ताधारी मान्नुपर्ने तर्क आन्दोलनरत कतिपय पक्षको छ । त्यसैले पटक–पटक संयुक्त आन्दोलन गर्नुपर्ने बताउँदै आएका प्रचण्ड–नेपाल पक्षको नेकपालाई कांग्रेससहित अरू दल र नागरिक समाजले विश्वास गरिसकेका छैनन् ।

    गौतमले भनेझैं तत्काल पार्टी एक हुन्छ भन्नेमा स्वयं विभाजित नेकपाका नेताहरू विश्वस्त छैनन् । ‘पार्टी एक भइरहे हुन्थ्यो भन्ने चाहना छ, इच्छा पनि छ । हामी औपचारिक रूपमा विभाजन भएको छैन भन्ने मान्यतामा छौं, न हामीले कसैलाई कारवाही गरेका छौं न कसैलाई निष्कासन गरेका छौं,’ ओली पक्षको नेकपाका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘प्रचण्ड र माधव कमरेडहरु नै हो अर्को बाटो हिँड्न खोज्नुभएको । त्यसैले सम्भावनाभन्दा पनि एकता भइदिए हुन्थ्यो भन्ने चाहना छ तर अब तत्काल कति सम्भावना हुन्छ भन्न सकिन्न ।’ उनले पार्टी एकताबद्ध भइरहने कुरा प्रचण्ड–नेपाल पक्षको नेकपाका नेताहरू कुन बाटो हिँड्न चाहन्छन् भन्नेमा निर्भर हुने बताए ।

    ‘हामीले त विभाजनको कल्पना पनि गरेका छैनौं,’ ज्ञवालीले भने, ‘प्रतिनिधिसभा विघटन हँककदा पार्टी विभाजन हुनु त पर्दैन नि । असहमति छन् भने पनि पार्टीभित्रै राख्न सकिने छ ।’

    पार्टी एकतादेखि नै एउटा न एउटा बहानामा बखेडा गरिरहेका नेकपाका नेताहरु पटक–पटक विभाजनको मुखमा पुग्दै फर्कंदै गरे । कात्तिक अन्तिम हप्तादेखि व्यक्तिगत आरोप–प्रत्यारोपमै उत्रिएका उनीहरूले अब पार्टी एउटै रहन सम्भव छैन भन्ने निचोड निकालिसकेका थिए ।

    प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरेपछि नेकपा तत्कालै २ पंक्तिमा बाँडियो । त्यसैले पार्टी एकताको पहिलो शर्त र सम्भावना नै प्रतिनिधिसभा पुनःस्थापना मात्र हुन सक्ने नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताए । ‘प्रतिनिधिसभा पुनःस्थापना भयो भने एकताको पनि सम्भावना छ, त्यतिखेर माहोल पनि अर्कै हुन्छ,’ भुसालले भने, ‘अरू अवस्थामा म तत्काल त्यस्तो सम्भावना देख्दिनँ ।’

    नेकपाको दुबै पक्षका दोस्रो तहका नेताहरू सकेसम्म पार्टी एक बनाउनुपर्ने, चुनावमा जाने स्थिति आउँदा पनि गठबन्धन बनाएर जान सकिन्छ कि भन्ने छलफलमा चाहिँ छन् । प्रधानमन्त्री ओली र प्रचण्डकै इच्छा र सहमतिमा उनीहरूले छलफल अघि बढाएको ती नेताहरूको भनाइ छ । ‘यो एकदमै प्रारम्भिक चरण हो,’ एकताका लागि छलफल गरिरहेका एक नेताले भने, ‘संसद् विघटनको निर्णय सर्वोच्चबाट सदर हुने र बैशाखमै निर्वाचन हुने अवस्थामा यो सम्भावना छैन ।’

    संसद् विघटन हुनेबित्तिकै नेपाल आएर ४ दिन यहाँको माहोल बुझेर गएको चिनियाँ विशेष टोलीले पनि सकेसम्म एकता र नभए पनि वाम गठबन्धन गरेर अघि बढ्न नेताहरूलाई सुझाव दिएको थियो । प्रचण्ड–नेपाल पक्षका नेकपाका प्रवक्ता श्रेष्ठ पार्टी एकै रहोस् भन्ने इच्छा भए पनि सम्भावना देख्दैनन् ।

    ‘प्रधानमन्त्रीले नै प्रतिनिधिसभा विघटन गर्नु ठूलो भूल हो, म प्रतिगमन सच्याउँछु भनेर आएमा एकताको सम्भावना रहन्छ, नत्र त अहिले त्यो विषयमा खासै कुरा भएको छैन,’ श्रेष्ठले भने ।

    पार्टी विभाजनको तोडमा रहेका नेताहरू एकअर्का विरुद्ध खरो उत्रिरहेका बेला गौतमको अभियानको उपादेयता के हो त उसो भए ? ‘संसद् विघटन गलत थियो पुनःस्थापना हुनुपर्छ, पार्टी एकता हुनुपर्छ भन्ने मागप्रति वामदेवजी इमानदार हो भने उहाँ हामीतिर हुनुहुन्छ,’ प्रचण्ड–नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने, ‘उता ओलीले कार्यकारी अध्यक्ष दिन्छु भनेका होलान्, हेरौं न वामदेवजीको पनि परीक्षाको समय छ ।’

    ओलीनिकट स्रोतका अनुसार गौतम पार्टी एकताको अभियानमा रहेका भनिएका सदस्यहरुसहित ढिलोचाँडो ओली पक्षमै जान्छन् । ‘उहाँकी श्रीमती पनि हाम्रै पक्षको केन्द्रीय सदस्य हुन्छ, उहाँलाई कार्यकारी अध्यक्ष बनाऔं भन्ने हाम्रो जोड हो तर प्रधानमन्त्रीज्यू मानिरहनुभएको छैन,’ ओलीनिकट ती स्थायी कमिटी सदस्यले भने, ‘त्यसैले धेरै सदस्य लिएर यतै आउने र कार्यकारी अध्यक्ष बन्ने सोचमा बामदेवजी हुनुहुन्छ, तत्काल एकता हुने कुरा बेकारका हुन् ।’

    नेकपाको विधानमा २ अध्यक्ष रहने व्यवस्था छ । ओली नेतृत्वको नेकपाले प्रचण्डलाई कार्यकारीबाट हटाए पनि अध्यक्षबाट भने हटाएको छैन । विभाजनको स्थिति आउँदा विधान परिवर्तन या त अध्यक्ष थप गर्नुपर्ने हुन्छ । गौतम त्यतिबेला ओली नेतृत्वको नेकपामा अध्यक्ष बनेर जान सक्ने सम्भावना रहेको उनका निकटस्थहरुको भनाइ रहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend