काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै खेमामा नलागेका नेता बामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन् ।
गौतमले शनिवार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छापेर बाँड्न अपिल गरे ।
पार्टी एकता जोगाउने वा पुनः एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुबै समूहलाई समर्थन नगरी अभियानको संयोजक बनेर अगाडि आएको गौतमले वक्तव्यमार्फत जनाए । ‘एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस् । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिने छ र पार्टीलाई पुनः एकीकरण गर्न सकिने छ,’ गौतमले वक्तव्यमार्फत् भने ।
सरकारले एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको ३ वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पीडादायी भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
गौतमले नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा रहेको पार्टी पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरूको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक भएको जनाए । उनले विभाजन रोक्न नसके नेपाली जनताले कहिल्यै माफी नदिने चेतावनी दिए ।
‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनः एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन्,’ उनले भने ।
गौतमले दुबै खेमालाई एकअर्काविरुद्ध गरिरहेका लडाइँ बन्द गर्न आग्रह गरेका छन् । ‘एकअर्कालाई दोष दिँदै, सामान्य मान–मर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्ट विरोधीलाई हसाउँदै सुरू गर्नुभएको लडाइँ बन्द गर्नुहोस् र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं सहिदको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं,’ व्यक्तव्यमा लेखिएको छ, ‘ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्धतिअनुरूप सम्मानजनक ढंगबाट हल गरौं ।’
गौतमले पार्टीका नेता–कार्यकर्तालाई जो जहाँ जुन अवस्थामा रहे पनि नेकपा एकता अभियानको नाममा संगठन खडा गर्न र विभाजनमा ढल्केकाहरूलाई सम्झाउन आग्रह गरे । ‘घरमा आउने कमरेडहरुलाई आफूसक्दो सहयोग गर्नुहोस् । सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस्,’ वक्तव्यमा उल्लेख छ ।
शीर्ष नेताहरुको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले व्यहोर्न पर्ने अवस्था आएको गौतमको ठहर रहेको छ । पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर प्रतिनिधि सभालाई दुरुपयोग गर्नेसम्मका घटना हुनु राष्ट्रकै निम्ति पीडादायी अवस्था भएको उनले जनाएका छन् ।
‘पार्टीभित्र उत्पन्न उपर्युक्त समस्या समाधान गर्नुको बदला एकीकरणपछिको यो १ वर्ष नेतृत्वको धु्रवीकरणमा बित्यो । पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीविरुद्ध प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले व्यहोर्नुपरेको छ,’ गौतमले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।