आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेल ढुक्क हुन नसकेको यस्तो कारण, त्यो ३ मतको हिसाबकिताब

शंकर पोखरेल ढुक्क हुन नसकेको यस्तो कारण, त्यो ३ मतको हिसाबकिताब

  • मिडिया डबली
  • शुक्रवार, पौष २४ २०७७

  • 5.9K
    SHARES

  • शंकर पोखरेल ढुक्क हुन नसकेको यस्तो कारण, त्यो ३ मतको हिसाबकिताब

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै प्रदेश सरकारका मुख्यमन्त्रीहरू अल्पमतमा परेका छन् । यस्तै अवस्थामा छन्, लुम्बिी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ।

    प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अल्पमतमा रहेका प्रदेशमा मुख्यमन्त्री हटाएर आफ्नो दबदबा राख्ने दाउमा रहेको प्रचण्ड–नेपाल समूहको तारो लुम्बिनी प्रदेश पनि बन्ने देखिएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल समेत ओली पक्षीय नेता हुन् ।

    बागमती र १ नम्बर प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसके पनि ओली पक्ष अल्पमतमा रहेको लुम्बिनी प्रदेश सरकार भने प्रचण्ड–नेपाल समूहको तारो बन्नबाट हालसम्म जोगिएकै छ । तथापि नेकपाको केन्द्रीय राजनीतिमा देखिएको विभाजन नटरे मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना भने उच्च छ । यसका लागि प्रचण्ड–नेपाल पक्षले संसदमा रहेका कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई साथमा लिनुपर्ने हुन्छ ।

    ‘कुरा शंकर पोखरेलको होइन, पोखरेलसँग व्यक्तिगत कारण मैले उहाँविरुद्ध अविश्वासको खेल खेल्नु मेरो राजनीतिक धर्मले दिँदैन,’ पोखरेललाई निष्कासन गरेर प्रचण्ड–नेपाल पक्षले प्रदेश ईन्चार्ज तोकेका युवराज ज्ञवालीले भने ‘तर पार्टीको केन्द्रबाट हुने निर्णयले उहाँलाई के गर्ने भन्नेबारे निर्णय गर्नेछ ।’

    उनका अनुसार अहिले नेकपाको प्रचण्ड–नेपाल पक्षले बहुमत पुर्‍याएर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा रणनीति बनाइसकेको छैन । तर पार्टी औपचारिक रूपमै विभाजन भसकेको अवस्थामा भने पोखरेलको बर्खास्तीका लागि पहल सुरू हुने ज्ञवालीले बताए ।

    ‘नेकपा व्यावहारिक रूपमा अलग भइसकेको छ, विभाजनको औपचारिकता मात्रै बाँकी छ,’ ज्ञवालीले भने, ‘पार्टी नै औपचारिक रूपमा अलग भइसकेको अवस्थामा त अल्पमतमा परेकाहरूलाई बहुमत पुर्‍याएर जित्नैपर्‍यो नि !’

    तत्कालीन नेकपा एमालेभित्र लामो समय अन्तरसंघर्ष गरेका पोखरेल र ज्ञवाली एकअर्काविरुद्ध फेरि शक्ति संघर्षमा उत्रने चर्चा चुलिएको छ । तथापि ज्ञवाली भने व्यक्तिगत कारण आफू पोखरेलविरुद्ध प्रस्तुत नहुने बताए । ‘म शंकरजीसँग व्यक्तिगत रूपमा जोडिन चाहन्न,’ उनले भने, ‘यसर्थ उहाँविरुद्ध म पार्टीको आधिकारीक नीति र निर्णय विना लाग्ने कुरा असल राजनीतिक चरित्र पनि होइन ।’  

    तर प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले भने पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रयास थालिसकेका छन् । प्रचण्ड–नेपाल पक्षका सांसदहरू शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनका लागि कांग्रेस र जसपासँगको रणनीतिक छलफलमा सक्रिय भइसकेका छन् ।

    पोखरेल पनि बहुमत पुर्‍याउनका लागि चाहिने ३ सांसद फकाउनमै व्यस्त छन् । ‘उहाँ (मुख्यमन्त्री) आफूलाई जोगाउनका लागि चाहिने ३ मत तान्नका लागि निकै प्रयासरत हुनुहुन्छ,’ प्रचण्ड–नेपाल पक्षका प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने, ‘हामीहरू पनि हाम्रो पक्षमा बहुमत जुटाउने रणनीतिमा लागिसकेका छौं ।’ प्रदेश सभामा रहेका कूल ७९ मध्ये पोखरेलको पक्षमा ४१ सांसद छन् । बहुमत पुर्‍याएर आफूलाई सरकार प्रमुखका रूपमा जोगाउन उनलाई ३ मत चाहिन्छ । ‘उहाँलाई ३ मत जोड्नका लागि साह्रै सकस भइरहेको छ, ३ मत जुटाउनका लागि ठूलै कसरत पनि गरिरहनुभएको छ,’ सांसद चौधरीले भने, ‘मलाई पनि मन्त्रीको लोभ देखाएर आफ्नो समूहमा आउन प्रस्ताव गर्नुभयो ।’

    यता २० मतसहित दोस्रो स्थानमा रहेको प्रचण्ड–नेपाल पक्ष भने तेस्रो शक्तिका रूपमा रहेको नेपाली कांग्रेसको १९ मत आफ्नो पक्षमा पार्न चाहन्छ । कांग्रेसले प्रचण्ड–नेपाल पक्षलाई साथ दिएको खण्डमा ६ मतसहित प्रदेश सभामा प्रतिनिधित्व गरेको जसपा पनि प्रचण्ड–नेपाल पक्षमा आउनैपर्ने हुन्छ ।

    नेकपा प्रचण्ड–नेपाल पक्षका प्रदेश अध्यक्ष ओनसरी घर्तीले पार्टी प्रदेश कमिटीले केन्द्रको निर्णय कुरेर बसेको बताइन् । अहिले प्रदेशको पार्टी कमिटीभित्र मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताका विषयमा औपचारिक संवाद सुरू भई नसकेको उनको भनाई छ ।

    ‘हाम्रो पार्टीको केन्द्रीय निर्णयले के भन्छ भन्नेमा यो विषय निर्भर छ,’ उनले भनिन्, ‘पार्टीको केन्द्रीय निर्णय नआइसकेकाले हामीहरूले यो विषयलाई औचारिकता दिइसकेका छैनौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend