काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि एक पक्षले अर्काे पक्षलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने शृंखला नै चलेको छ ।
१ नम्बर प्रदेशका संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई लिखित स्पष्टीकरण नै सोधेका छन् ।
उपनेता आङबोहाङ नेकपा प्रचण्ड–नेपाल पक्षका नेता हुन् । स्पष्टीकरण सोधिनेमा मन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ८ जना सांसदहरू रहेका छन् ।
संसदीय दलको बैठकमा उपस्थित नभएको, पार्टी र दलको विधानविपरीत कार्य गरेको भन्दै दलका नेता तथा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, विमल कार्की र अम्बिका थापालाई उपनेता आङवोहाङले स्पष्टीकरण सोधेका छन् ।
‘उहाँहरू संसदीय दलको बैठकमा उपस्थित हुनुभएन,’ उनले भने, ‘दलको आचरणविरुद्ध लागेका कारण स्पष्टीकरण सोधिएको हो ।’ सबै जनालाई स्पष्टीकरणको पत्र हुलाक र कुरियर गरेर पठाएको आङबोहाङले बताएका छन् । स्पष्टीकरण चित्तबुझ्दो नभए कारवाही गर्ने तयारी छ । ओली पक्षकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसीयतलाई भने स्पष्टीकरण सोधिएको छैन ।
यसअघि प्रचण्ड–नेपाल पक्षले दलका नेता राईलाई हटाएर भीमप्रसाद आचार्यलाई दलको नयाँ नेता चयन गरेको जानकारी प्रदेशसभा सचिवालयमा लिखित रूपमा गराइसकेको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा सचिवालयमा ३७ जनामध्ये १९ जनालाई ओली पक्षले स्पष्टीकरण सोध्नुका साथै १६ जनालाई ३ महिनाका लागि निलम्बन पनि गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।