काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनको परिणाम आउनेबित्तिकै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता तोड्न खोजेको गम्भीर आरोप लगाएका छन् ।
२ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा मंगलवावर नेकपाको ओली पक्षले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ३ वर्षअघि चुनाव सकिएलगत्तै प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल चलाएको आरोप लगाए ।
‘सरकार बनाउने बेलामा हामीले छलफल चलाउँदा २ दिनसम्म प्रचण्ड आउनु नै भएन,’ पोखरेलले भने, ‘पछि थाहा पाउँदा त उहाँ कांग्रेस र साना दलहरूसँग सरकार बनाउने बारेमा छलफल चलाइसक्नुभएको रहेछ ।’
चुनावमा तत्कालीन नेकपा एमाले र नेकपा माओेवादी केन्द्र मिलेर बहुमत ल्याएपछि सरकार बनाउने फाइदा प्रचण्डले लिने खोजेको पोखरेलले बताएका छन् । त्यतिबेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्टको मोर्चा टुट्न नदिन प्रचण्डसँग सत्ता साझेदारीको सहमति गरेको उनले बताए ।
‘कम्युनिस्टकै सरकार बनाउन ओलीज्यूले प्रचण्डले जे–जे भने ती सबैको हस्ताक्षर गरेर सरकार बनाउनुभयो,’ पोखरेलले भने ।
कम्युनिस्ट सरकारबाट नागरिकले गरेको अपेक्षा पूरा हुन प्रचण्डले नै नदिएको पोखरेलले बताए । ‘सरकारले कुनै राम्रो निर्णय गर्दा उनले धक्का मात्रै दिइरहे । सरकारलाई चल्नै दिइएन । राजदूत आफ्नो हुनुपर्छ । राजनीतिक नियुक्ति मलाई नै चाहिन्छ भनिरहनुभयो,’ उनले भने ।
प्रचण्डकै कारण पनि नेकपा दुईतिहाइ मत ल्याउनबाट चुकेको उनले आरोप लगाए । पार्टी एकता भएको २४ घण्टा बित्न नपाउँदै प्रचण्डले सूर्य चिह्नबाट चुनाव नलड्ने बताएको र त्यसकै परिणाम नेकपाले दुईतिहाइ मत नल्याएको उनले बताए ।
‘प्रचण्डले एकीकृत चिह्न सूर्य नमान्दा एमालेले ३३ लाखभन्दा बढी मत ल्यायो । माओवादीले १३ लाख मत ल्यायो,’ पोखरेलले भने, ‘१० लाख मत रद्द भयो । त्यसकारण नेकपा दुईतिहाइबाट चुक्यो ।’
नेता पोखरेलले पार्टीमा बिग्रहको कुरा शुरू भइसकेको बताउँदै अहिले पार्टी औपचारिक रूपमा २ टुक्रा नभएपनि गतिविधिले एउटै नरहेको बताए । ‘यस्तो अवस्थामा पनि हामी एकताकै पक्षमा उभिएका छौं,’ पोखरेलले भने, ‘एकताविरुद्व जाने जो कोहीलाई पनि मुर्दावाद भन्दै एकताबद्ध भएर अघि बढ्ने हाम्रो योजना छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।