काठमाडौं – नेकपा विभाजनसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा रहेको चर्चा भइरहेका बेला बुटवलमा चमत्कार भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मुख्यमन्त्री पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय पूर्व माओवादी सांसदहरूलाई समेत आफ्नो पक्षमा पारेर चमत्कार गरेपछि उनी सुरक्षित भएका छन् । तर ओलीबाट अलग भएर छुट्टै पार्टीको अभ्यास गरिरहेका प्रचण्डलाई भने ठूलो धक्का लागेको छ ।
लुुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १(२) बाट निर्वाचित सांसद दधिराम न्यौपाने ओली पक्षमा लागेपछि लुम्बिनीमा उथलपुथल भएको छ । पूर्व माओवादी धारका प्रत्यक्ष निर्वाचित सांसद न्यौपाने ओली पक्षमा खुलेर लागेपछि बालुवाटार हौसिएको छ भने खुमलटारमा धक्का लागेको छ ।
नेकपा विभाजित बनेसँगै सांसदहरू तानातानमा परेको अवस्थामा प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति तथा सांसद न्यौपानेले आफू अहिले सरकार पक्षतिर लागेको बताएका छन् ।
‘को कता भनेर अबिर टीका लगाएर पार्टी प्रवेश गर्ने विषय भएन । सर्मथन सडकमा गर्ने कि सरकारलाई गर्ने भन्ने हो । मैले अहिले सरकारलाई समर्थन गरें, अरु जिल्लास्तरमा साथीहरू पनि मसँगै सरकारको समर्थनमा जानुभयो,’ उनले भने । न्यौपानेको प्रभावमा अन्य पूर्व माओवादी सांसदहरू पनि ओलीतिरै लागेका छन् ।
नेताहरू अनुप बरालसहित जिल्ला स्तरका अन्य नेता ओली समूहमा रहेको न्यौपानेले दाबी गरे । न्यौपाने सुरूमा प्रचण्ड–नेपाल पक्षको भेलामा पुगेर सो कित्तामा रहेको सन्देश दिए भने रुपन्देहीको तिलोत्तमामा पूर्वमन्त्री घनश्याम भुसाल प्रमुख अतिथि बनेको भेलामा पुगेर सम्बोधन नै गरेका थिए ।
यसपछि लुम्बिनी प्रदेश सरकारका मुुख्यमन्त्री शंकर पोखरेलले छलफल चलाएर न्यौपाने लगायतलाई ओली पक्षतिर तानेको स्रोतले जनाएको छ । मुख्यमन्त्री पोखरेल पद जोगाउन सांसद आफ्नो समूहमा तान्ने अभियानमा रहेका छन् ।
प्रदेश सभामा ६१ सांसद रहेकोमा पूर्व माओवादीका २० सांसद छन् । अहिले सांसद न्यौपाने ओलितिर लागेपछि पोखरेल नेतृत्वको प्रदेश सरकार थप मजबुत बनेको बुझिएको छ । लुम्बिनी प्रदेश नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले अन्य पूर्व माओवादी पक्षका सांसदलाई पनि आफूतिर तान्नका लागि छलफल भइरहेको दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।