काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रदेश पार्टीको बैंक खाताबाट ३० लाख रुपैयाँ निकालिएको स्वीकारेका छन् ।
शुक्रबार कैलालीको धनगढीमा आयोजित नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै नेता रावलले पार्टीकै कामले रकम निकालिएको बताए ।
‘हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले र हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाएका छौं,’ नेता रावलले भने, ‘केही रकम हाम्रो काममा खर्च भयो ।’
पार्टी विभाजन भएको बेला बैंकबाट रकम झिकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता तथा प्रदेश अध्यक्ष कर्ण थापाले आरोप लगाएका थिए । ‘बैंक खातामा रहेको ३० लाख रकम प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले झिक्नुभएको हो,’ नेता रावलले भने, ‘रकम झिकेको भन्दै प्रदेश अध्यक्ष थापाले धम्की दिनु गलत हो, उहाँको धम्कीले कोही डराउनेवाला छैन ।’
नेता रावलले बैंकबाट रकम निकालेको स्वीकारेपछि अब ओली पक्षले के गर्ला ? हेर्न बाँकी छ ।
नेता रावलले कार्यकर्तालाई सम्बोधन गर्दै चुनाव चिह्न सूर्य आफ्नो समूहको भएको दाबी गरे । उनले कार्यकर्तालाई ढुक्क भएर बस्न समेत आग्रह गरेका छन् ।
‘वैधानिक पार्टी र सूर्य चिह्न हाम्रो हो,’ रावलले भने, ‘भ्रममा नबसौं हामीले नै वैधानिकता पाउँछौं ।’
प्रधानमन्त्री ओलीले लगातार राष्ट्रियता विरोधी र विधि तथा पद्धति विरोधी कार्य गर्न थालेपछि पार्टीले हस्तक्षेप गरेको नेता रावलले बताएका छन् ।
‘हामीले घेराबन्दी पनि गरेका छैनौं, उहाँको कार्यमा बाधा सिर्जना पनि गरेका छैनौं,’ नेता रावलले भने, ‘राष्ट्रियता कुल्चिने, जनविरोधी कार्यक्रम ल्याउने, पार्टी विभाजन गर्न खोजेपछि रोक्ने कार्य भने गरेकै हौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।