काठमाडौं – राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले नेकपामा अहिले ३ कित्ता रहेका र आफ्नो छुट्टै कित्ता रहेको घोषणा गरेका छन् ।
शुक्रवार पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका उपाध्यक्ष गौतमले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेकपाको पछिल्लो राजनीतिबारे बोलेका छन् ।
‘नेकपामा अहिले ३ कित्ता छन्, त्यसमा १ मेरो हो,’ उपाध्यक्ष गौतमले भने, ‘२ समूहका २ कित्ता भइहाले । अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने मेरो कित्ता हो । मलाई दशौं हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउनुस् भनिरहेका छन् ।’
उपाध्यक्ष गौतमले आफू प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकाले उनी त्यसको विरुद्धमा छन् । धेरै सांसदलाई यो कुरा चित्त नबुझेको उनले बताए ।
प्रतिनिधि सभा विघटनको विपक्षमा भए पनि आफू नेकपाको प्रचण्ड–नेपाल समूहमा नजाने समेत गौतमले बताएका छन् ।
‘आज बिहानको भेटमा प्रचण्डजीले तपाईं हामीतिर आउनुस् भन्नुभयो । मैले आउँदिनँ भनें,’ उपाध्यक्ष गौतमले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई दिनदिनै बोलाउने गरेको बताएका छन् । गौतम न यता, न उता कतै नलागेपछि ओली र प्रचण्ड दुवैलाई धक्का लागेको छ ।
उपाध्यक्ष गौतमले निर्वाचन आयोगबाट आधिकारिक रूपमा निर्णय नभएसम्म नेकपा फुटेको नमानिने भएकाले आफू पार्टी एकताका पक्षमा लागिरहने बताएका छन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित बामदेवलाई केही समयअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित गरेर राष्ट्रियसभा सदस्य बनाइएको थियो । मनोनितपछि पहिलो पटक शुक्रबार गौतम राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।