काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग खुला प्रस्ताव राखेका छन् ।
नेता रावलले राजनीति गर्ने भए सुदूरपश्चिम आउन राष्ट्रपति भण्डारीलाई चुनौती दिएका छन् । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा चलेर राष्ट्रपति भण्डारीले शितलनिवासबाट राजनीति गरेको भन्दै नेता रावलले खुला राजनीतिमा आउन प्रस्ताव गरेका हुन् ।
नेकपा प्रचण्ड–माधव पक्षले कैलालीको धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता रावलले राष्ट्रपति भण्डारीलाई राजनीति गर्ने भए सुदूरपश्चिम आउन चुनौती दिएका छन् ।
नेता रावलले राष्ट्रपतिले गुटको मात्रै संरक्षण गरेको आरोप लगाए । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि छलफल र संसदको विशेष अधिवेशन माग गर्दै आफू ८३ जना प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय गएको तर निवेदन दर्ता नगरिएको नेता रावलले दाबी गरे ।
‘सरकारी कुनै पनि कार्यालयमा एउटा नागरिक गए पनि निवेदन दर्ता गर्नुपर्छ,’ रावलले भने, ‘तर हामी ८३ जना प्रतिनिधिसभा सदस्यको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय गए पनि विवेदन दर्ता भएन ।’
‘राष्ट्रपति कसको हो ? कुनै व्यक्तिको ? वा कुनै गुटको ? वा कुनै उपगुटको ? होइन उहाँले यदि कुनै गुटको संरक्षण गर्न चाहनुहुन्छ । यदि संविधानको मर्यादालाई नाघेर राजनीति गर्न चाहनुहुन्छ भने शितलनिवासमा नबस्नुस्, यहाँलाई गुटलाई काखी च्याप्न मन लागेछ भने गुटको राजनीति गर्न मन लागेको छ भने म जस्तै मन लागे धनगढीको सडकमा आउनुहोस्,’ नेता रावलले भने, ‘होइन म सुदूरपश्चिम जान्न भन्ने यहाँलाई इच्छा लाग्छ भने उतै झापाको गल्लीमा जानुहोस् कि भोजपुरमा जानुहोस् । होइन भने नेपालको संविधानको मर्म र देशको मर्यादालाई कुल्चने राष्ट्रपतिलाई अधिकार छैन ।’
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद भंग गरेर निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध प्रचण्ड–नेपाल नेकपाले मंगलबार देशभर प्रदर्शन गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।