काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले घरघरमा ल्याउने भनिएको ग्यास चुल्हो प्रधानमन्त्री केपी ओलीले सबै आफ्नै घरमा लगेको व्यंग्य गरेका छन् ।
आज मंगलबार राजधानी काठमाडौंमा आयोजित विरोध कार्यक्रममा बोल्दै नेता खनालले केपी ओलीले घरघरमा ल्याउने भनेको चुल्हो खै भनेर प्रश्न समेत गरेका छन् ।
‘तीन वर्ष ओलीले गफगफ हानेर बिताए,’ नेता खनालले भने, ‘कहिले पानीजहाज भने, कहिले घरघरमा चुल्हो । खै चुल्हो ? ओलीले आफ्नै घरमा लगे होलान् ।’
नेता खनालले सरकारलाई धेरै पटक आफूहरुले सुझाव दिएको तर नसुनेको आरोप लगाए । ‘उनले हाम्रो सुझाव एक पटक पनि सुनेनन् । पुँजीवादी नीति र कार्यक्रम आए । बजेट ठीक ढंगले ल्याइएन । परिणाम स्वरूप यो ३ वर्षमा गफै गफ हाँकेर बित्यो,’ खनालले भने, ‘उखान र टुक्का हालेर देश चल्दैन ।’
खनालले मरिचमानले गरेजति पनि काम गर्न नसकेको भन्दै ओलीको आलोचना गरेका छन् । ओली सरकारले संसद विघटन गरेपछि आज प्रचण्ड–नेपाल नेकपाले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।