काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादले विभाजित भएपछि आकस्मिक रूपमा आईतबार काठमाडौं आएको चीनको विशेष प्रतिनिधि मण्डलले साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।
पीपीई लगाएर काठमाडौं आएका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यान सहितको ४ सदस्यीय टोली एयर चाइनाको चार्टर विमानबाट काठमाडौं उत्रनासाथ चिनियाँ दूतावासमा राजदूत हाउ यान्छीबाट वस्तुस्थितिको ‘ब्रिफिङ’ लिएर शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेको थियो ।
‘झन्डै आधा घण्टा लामो भेटवार्ताको विषयवस्तुबारे जानकारी गराइएको छैन,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘यो उच्च प्रतिनिधिमण्डल आउनेबारे गत हप्ता नै चिनियाँ राजदूत यान्छीले अवगत गराइसक्नुभएको थियो ।’
राष्ट्रपतिसँगको छलफललगत्तै प्रतिनिधिमण्डल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थियो । ओली र चिनियाँ विशेष टोलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्विटमार्फत जनाएका छन् ।
दुवै भेटमा राजदूत यान्छी पनि सँगै थिइन् । भ्रमणमा आएका विशिष्ट अधिकारीलाई उनीहरूकै चाहनाबमोजिम ओहदा अनुसारको एस्कर्टिङ र अंगरक्षक उपलब्ध गराइएको थिएन ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ दूतावासले पत्र लेख्दै ‘प्रोटोकल सहितको सुरक्षा’ दूतावास स्वयंले व्यवस्था गर्ने जानकारी गराएको थियो । विमानस्थलमा उत्रँदा समेत स्वास्थ्य सुरक्षाको सतर्कतासहित चिनियाँ नेताहरू पीपीई ड्रेस लगाएरै आएका थिए । उनीहरूलाई लिन राजदूत यान्छी विमानस्थल पुगेकी थिइन् ।
स्वागतका लागि परराष्ट्रका अधिकारी र नेकपाका नेताहरू कोही पनि उपस्थित थिएनन् । यान्छीले गत हप्ता नै राष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल लगायतलाई भेटेर समसामयिक राजनीतिक वस्तुस्थितिबारे सरोकार राखेकी थिइन् ।
यसअघि पनि आन्तरिक विवाद र सत्ता बाँडफाँटको द्वन्द्वले नेकपा विभाजनको मुखमा पुग्न लाग्दा चिनियाँ राजदूत यान्छीले शीर्ष नेताहरूकहाँ गरेको ‘घरदैलो’को कूटनीतिक वृत्तमा आलोचना हुँदै आएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहका विदेश विभाग उपप्रमुख उपनेता विष्णु रिजालले ‘राजदूत यान्छीले चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीको भ्रमणबारे जानकारी गराउँदै भेटघाटका लागि वरिष्ठ नेताहरूको समय लिइसकेको’ जनाएका छन् । स्रोतका अनुसार प्रतिनिधि मण्डलले सोमवार नेता नेपाल र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछ । ४ दिने भ्रमणमा आएको टोलीले विभाजित नेकपाका दुवै घटकसँग भेटवार्ता गरेर एकता र सहकार्यका पहल गर्दै चिनियाँ सरोकार राख्ने जनाइएको छ ।
यसअघि उपमन्त्री येचौ तत्कालीन एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएलगत्तै २०७४ फागुन पहिलो हप्ता चीन सरकारका तर्फबाट बधाई ज्ञापन गर्न काठमाडौं उत्रिएका थिए । उपमन्त्री येचौलाई नेकपा गठबन्धन बनाउन पहल गर्ने ‘बाहिरी सूत्रधार’ समेत मानिने गरिएको छ ।
नेपालमा कम्युनिस्ट पार्टीहरूको एकताका पक्षमा देखिने गरी भूमिका निभाउँदै आएको चीनले यस पटक पनि विभाजित भइसकेको नेकपाका २ घटकलाई पुनः एक गराउन यो हतारको ‘परामर्श भ्रमण’ गरेको आकलन छ । एकता र सहकार्यका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आएको ठानिएको यो टोलीको कम्युनिस्ट पार्टी बाहेकका प्रतिपक्षी र अरु दलका प्रतिनिधिसँग भेटघाट हुनेबारे खुलाइएको छैन ।
चीनका लागि पूर्व राजदूत डा. महेश मास्केका बुझाइमा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च पदाधिकारी तहमा भएको यो भ्रमण आफैंमा ‘अर्थपूर्ण’ छ । ‘तर यो प्रतिनिधिमण्डल कसको निमन्त्रणामा काठमाडौं आएको हो, खुलेको छैन,’ मास्केले भने, ‘काठमाडौं उत्रनासाथ राष्ट्रपति र प्रधानमन्त्री तहमा भेटवार्ता भएकाले सरकारी निम्तो वा स्वीकृतिमै भ्रमण भएको देखिन्छ ।’
मास्केका अनुसार सोमवारपछिका दिनमा यो विशिष्ट टोलीले गर्ने भेटघाटका आधारमा यो ‘हतारको भ्रमण’को अर्थ र कारण प्रष्टिने छ । नेपालमा राजनीतिक अस्थिरता र पार्टीगत विभाजन देखिएसँगै उत्तर र दक्षिणका दुबै छिमेकीको भूराजनीतिक चासो देखिने गरेको छ । चीनले आफ्नो तिब्बत भूमि सहितको सुरक्षा चासो र नेपालमा राजनीतिक स्थिरताका पक्षमा देखिने गरी सरोकार राख्दै आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।