काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले बैशाखमा चुनाव नगराउने गोप्य षड्यन्त्रबारे पर्दाफास गरेका छन् ।
‘प्रधानमन्त्री ओलीले चुनाव गराउने उद्देश्यले संसद विघटन गरेकै हैनन्,’ कैलालीको धनगढीमा आईतबार नेता कार्यकर्ता भेटघाटमा उनले भने, ‘ओली कस्ता प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन्, जसले आफ्नै पार्टीभित्र जालझेल गर्छन्, संविधानमा कुनै व्यवस्था नभए पनि बलजफ्ती संसद् विघटन गर्छन्, आफैं पार्टी फुटाउँछन् र पार्टी कार्यकर्ताहरूमाथि विश्वासघात गर्छन् ।’
नेकपा स्थायी कमिटीको निर्देशन उल्लंघन गर्नुको कारण पार्टी विभाजन गर्ने मनस्थिति रहेको अहिले आएर पुष्टि भएको नेता रावलले बताए । ‘यसअघि नै अध्यादेश ल्याउन खोज्नु यसकैका लागि रहेछ भन्ने त बल्ल बुझियो,’ उनले भने, ‘सामन्तहरूसँग बालुवाटारमा मध्यराति भेट्नुका रहस्यहरू पनि बिस्तारै खुल्दैछन् ।’
नेता रावलले अबको लडाइँ संविधान, वर्तमान व्यवस्था तथा विधि प्रणालीका पक्षधर र कानून नमान्ने तथा निरंकुश चरित्र व्यवहार भएकाहरू बीचमा हुने बताएका छन् ।
निर्वाचन आयोगबाट कसले आधिकारिता प्राप्त गर्ने भन्ने उल्झन कायमै रहेका बेला नेता रावलले आफू पक्षधरले नेकपाको आधिकारिकता प्राप्त गर्नेमा कुनै शंकै नरहेको दाबी गरेका छन् । उनले भने, ‘उहाँहरूको पक्षमा वैधानिक केन्द्रीय सदस्यहरुको संख्या २८ प्रतिशतभन्दा कम छ । त्यसैले उहाँहरूले वैधानिकता पाउने कल्पना पनि नगरे भो ! आयोगले संख्या नपुगेको पक्षलाई वैधानिकता दिने प्रश्नै छैन ।’
नेकपा प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का छुट्टाछुट्टै पक्षमा विभाजित भएको छ । विभाजनपछि दुवै पक्षले एकअर्काका मनसाय, षड्यन्त्रबारे खुलासा गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।