काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछि त्यसविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा खुलेरै उत्रिएका छन् ।
आईतबार नेकपा प्रचण्ड–नेपाल समूहको दाङ जिल्ला पार्टी कार्यालय घोराहीमा बसेको बैठकलाई सम्बोधन गर्दै महराले विदेशीको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको खुलासा गरे ।
नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका महराले राष्ट्रिय–अन्तर्राष्ट्रिय डिजाइनमा प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको दाबी गरे ।
‘ओलीको कदमले देशलाई थप प्रतिगमनतर्फ लैजाने हुँदा त्यसको सबैले खुलेरै विरोध गर्नुपर्छ,’ महराले बैठकमा भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले शुरूदेखि नै प्रधानमन्त्री ओली लोकतान्त्रिक गणतन्त्रका पक्षधर नभए पनि गलत तरिकाले पार्टीको नेतृत्व हुँदै देशको नेतृत्वमा पुग्दा समस्या उत्पन्न भएको बताएका छन् ।
‘ओलीमा पदलोलुपता बाहेक केही छैन,’ उनले भने, ‘त्यसका लागि उहाँले संघीयता र गणतन्त्र समेत मास्न तयार भए आश्चर्य मान्नु पर्दैन ।’
बैठकलाई पूर्व मन्त्री रेखा शर्मा, नेता भागवत विश्वासी लगायतले सम्बोधन गरेका थिए ।
बैठकले आईतबार बिहान पार्टी कार्यालय तोडफोड गरेर बबन्डर गर्ने ओली समूहका व्यक्तिप्रति खेद व्यक्त गरेको जिल्ला कार्यालय सदस्य सुरामणि बेलबासेले बताए ।
‘ओली समूहले मूल गेटको तालामात्रै फोडेको छैन । भित्रको बैठक कक्षको ताला समेत फोडेर सामग्री लथालिङ्ग पारेको छ,’ उनले भने ।
नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले ओली समूहमा लाग्नेहरुलाई कारबाही गर्ने निर्णय समेत गरेको छ ।
‘ललिपप देखाएर गएकाहरुलाई एक पटक सम्झाउने र सम्झाउँदा पनि नमान्नेलाई अर्को बैठकदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही थाल्ने निर्णय समेत भएको छ,’ उनले भने, ‘ओली समूहले जिल्ला कमिटीको बैठक हो भनेर धेरैलाई भ्रममा पारेर जिल्ला कमिटीमा राखेको पाइएको छ ।’
आईतबार बिहान पार्टी कार्यालयमा बसेको ओली समूहको बैठकले ३०० जना जिल्ला कमिटी सदस्य थप गरेको थियो । ‘हामीले चाहेमा ५ हजार जिल्ला कमिटी बनाउन सक्छौं,’ उनले भने, ‘त्यसरी रातारात थपिने सदस्यहरुको के अर्थ रहन्छ ?’
दाङमा ७ सदस्यीय जिल्ला कार्यालय सदस्यमध्ये हुकुमबहादुर बस्नेत मात्रै एक्लै ओली समूहमा रहेका र १५४ सदस्य जिल्ला कमिटी सदस्यमध्ये ११९ जना जिल्ला कमिटी सदस्य प्रचण्ड–नेपाल समूहमा रहेको दाबी गरेका छन् ।
‘हाम्रो पक्षमा अत्यधिक बहुमत छ,’ बेलबासेले भने, ‘हामी त्यसरी रातारात कसैलाई टीका लगाउने गलत प्रचलनको विकास गर्दैनौं ।’
बैठकले अन्य दलहरुसँग मिलेर संयुक्त संघर्ष समिति बनाएर ओलीको असंवैधानिक कदमविरूद्ध सशक्त संघर्ष गर्ने, पुस १४ गते जिल्लामा बृहत् प्रदर्शन र विरोध सभा गर्ने, जिल्लाका वडा तहसम्म पनि विरोधसभा गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली पक्षीय नेता शंकर पोखरेलको गृहजिल्ला समेत भएपनि दाङमा प्रचण्ड–नेपाल पक्षीय नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले चमत्कार देखाएका छन् । दाङमा जिल्ला कमिटीका पदाधिकारी सबै महराको पक्षमा खुलेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।