काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ सहितको ४ सदस्यीय प्रतिनिधि मण्डलले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ ।
आईतवार अपराह्न विशेष विमानमार्फत काठमाडौं आएको चिनियाँ प्रतिनिधिमण्डल बालुवाटारस्थित चिनियाँ दूतावासमा एकछिन बसेर हतारहतार राष्ट्रपति कार्यालय शितलनिवास छिरेको थियो ।
चिनियाँ टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभाजित नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।
संसद विघटनसँगै नेपालमा संवैधानिक संकट बढेका बेला आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी चिनियाँ टोलीको सक्रियताको आलोचना भइरहेको छ । चिनियाँ टोलीले आफ्नो चलखेललाई गोप्य राख्न खोजेको छ ।
नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले विवाद मिलाउन नसकेपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली काठमाडौं आएको हो । काठमाडौं पुगेको चिनियाँ टोली नेपाल प्रहरीको सुरक्षा देखेर डराएको छ । प्रहरीले विदेशी पाहुनालाई सुरक्षा दिन आग्रह गर्दा चिनियाँ दूतावासले अस्वीकार गरेको छ ।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने उद्देश्यसहित काठमाडौं आएको चिनियाँ टोलीले आफ्ना गतिविधि र क्रियाकलाप गोप्य राख्न प्रहरीको सुरक्षा अस्वीकार गरेको स्रोतले जनाएको छ । नेपाल प्रहरीबाट लुकाएर चिनियाँ टोलीले काठमाडौंमा के चलखेल गर्न खोज्दैछ, चासोको विषय बनेको छ ।
नेपाल प्रहरीले उपमन्त्री येझाउको सुरक्षाका लागि परराष्ट्र मन्त्रालय हुँदै चिनियाँ दूतावाससँग समन्वय गरेको थियो । तर दूतावासले नेपालको सुरक्षा नचाहिने भन्दै अस्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । चिनियाँ उपमन्त्री येझाउलाई दूतावासमा रहेका चिनियाँ सुरक्षाकर्मीले नै सुरक्षा दिइरहेका छन् ।
नेकपा फुटेपछि तनावमा परेर हतारहतार चार्टर विमानबाट काठमाडौं आएको चिनियाँ टोलीले काठमाडौंमा गोप्य रूपमा काम गर्न खोजेको छ । यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतसँग भेट गरेकी थिइन् ।
राजदूत यान्छीको भेटले विवाद समाधान नभएपछि चीनबाट उच्चस्तरीय टोली काठमाडौं आएको हो । उपमन्त्री येझाउको टोलीले राष्ट्रपति भण्डारीसहित नेकपा नेताहरूलाई भेट्न कार्यक्रम रहेको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट प्रतिनिधिसभा विघटन भएर आगामी बैशाखमा चुनाव घोषणा गरिएको छ । पार्टीमा छलफल नै नगरी ओलीको गम्भीर कदम उठाएपछि प्रचण्ड लगायत नेकपा नेताहरू आक्रोशित बनेर पार्टी फुटको अवस्थामा पुगेको छ ।
नेकपा फुटेको चीनलाई मन नपरेपछि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चिनियाँ टोली नेपाल पुगेको छ । ओली र प्रचण्ड पक्ष देशभर झगडा गरिरहेका बेला चिनियाँ टोलीले भने पुनः दुवै पक्षलाई मिलाएर नेकपाको फुट जोगाउन दबाब दिने स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।