काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न शनिवार बिहान खुमलटार पुगेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको आलोचना त गरे तर आफ्नो लाइन भने खुलस्त पारेनन् ।
उनले आफू अझै पनि पार्टी एक गराउन सकिन्छ कि भनेर लागिपरेको बताए । उसो त गौतम अहिले दुबै नेकपाको उपाध्यक्ष छन् । किनभने बैठकमा नगए पनि उनलाई ओली र प्रचण्ड–नेपाल नेतृत्वमा रहेका दुबै नेकपाले हटाइसकेका छैनन् र उपाध्यक्ष नरहने गरी विधान संशोधन पनि भएको छैन ।
प्रचण्ड निवासबाट भैंसेपाटीस्थित आफ्नो निवासमा फर्किएपछि निकटस्थहरूको संवादमा गौतमले सर्वाेच्चको फैसला नआउँदासम्म आफू कतै नखुल्ने बताए । यसको अर्थ राजनीतिको पासा जता पल्टिन्छ, आफू त्यतै ढल्किने योजनासहित गौतमले जोखना हेरिरहेका छन् । तर उनी निकटस्थ भनिने ३१ जना केन्द्रीय सदस्यमध्ये हरि पराजुलीबाहेक अरू सबैले आ–आफ्नो कित्ता छुट्याइसकेका छन् ।
‘उहाँले सर्वाेच्चको फैसला हेरेपछि कता लाग्दा फाइदा हुन्छ, त्यतै लाग्ने तयारी गरेझैं देखिन्छ,’ उनीसित संवादमा रहेका एक नेताले भने, ‘हामीले अब लाइन क्लियर गरौं कमरेड भनेको हो, अझै पर्खन्छु भन्नुभयो । अहिले पो उहाँको भाउ लिलाम बढाबढ हुँदाजस्तो छ, पछि त कौडी बराबर पनि हुन्न नि !’
‘राजनीतिक धुरन्धर खेलाडी’ गौतमले पनि यति कुरा नबुझेका होइनन् तर आफू सिनियर नेता भएकाले जता गए पनि कतै न कतै एड्जस्ट भइहालिन्छ नि भन्ने आत्मविश्वास उनमा अलि बढी देखिएको छ । पार्टी राजनीतिक रूपले विभाजित भइसक्दा पनि कतै नखुलेका रामबहादुर थापा ‘बादल’ गत पुस ९ गतेदेखि ओली कित्ताको नेकपाका लागेपछि अहिले ‘कोर अफ दी लिडरसिप’ भनिने नेकपाको तत्कालीन सचिवालय सदस्य संख्या दुवैतिर ४–४ जनाको छ ।
गौतम जता लाग्छन्, त्यतै सचिवालयको बहुमत हुन्छ । यसले नेकपाको अंकगणितमा खास फरक त पार्दैन तर राजनीतिक सन्देश भने अर्थपूर्ण हुन्छ । त्यसैले पनि अहिले गौतम तानातानमा छन्, आफू निकटका नेताहरू तितरवितर भएर लाइन क्लियर गर्नुस् भन्दा पनि निर्णय गर्न सकिरहेका छैनन् । यसको पछाडि दुईटा कारण देखिन्छन् ।
पहिलो – २०५४ सालमा एमालेबाट विभाजन भएर माले बनेपछि पाएको चोट गौतमले बिर्सिसकेका छैनन्, दोस्रो – अहिले नेकपा एक भइसकेपछि पार्टीभित्रै सहकर्मीहरूले बारम्बार आश्वासन दिने र कार्यान्वयन नगर्ने परिस्थितिको सामना गरिरहेकाले उनलाई अहिले पनि दुवैतिरका अध्यक्षहरूले दिएको वचन पत्याइहाल्न कठिन भइरहेको छ । ओलीले गौतमलाई दोस्रो अध्यक्षसहित सरकारमा जाने भए रोजेको मन्त्रालय र वरिष्ठ उपप्रधानमन्त्री दिने प्रस्ताव गरेका थिए तर ओलीले शुक्रवार ९ जना मन्त्रीहरू थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिए । ओलीले प्रस्ताव गरेझैं दोस्रो वरियताको अध्यक्ष बन्ने/नबन्ने भन्नेमा उनी अनिर्णित नै छन् ।
खुमलटारमा पनि शनिवार बिहान सुरूमा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ र पछि दाहाल एक्लैले संवाद गरेर गौतमलाई पार्टीमा सम्मानजनक स्थान दिने बताएका थिए । अहिले नै उपाध्यक्ष रहेका गौतमलाई त्योभन्दा सम्मानजनक स्थान के हुन्छ, त्योचाहिँ यो समूहका नेताहरूले पनि खुलाएका छैनन् ।
गौतमको अर्काे आकलन पनि छ, ओलीको नेकपामा सिनियर नेताहरू कम छन् । गौतम गए भने उनले पाउने सम्मान स्वतः बढी हुन्छ । तर प्रचण्ड–नेपालको नेकपामा नेताहरू धेरै भएकाले भाग पाउन र पुर्याउनै कठिन हुने सम्भावना उनले देखिरहेका छन् । उनको अहिलेको मिसन नै प्रधानमन्त्री बन्ने भएकाले कहाँको स्विच दबाउँदा कहाँको बत्ती बल्छ, त्यो हेर्ने अवस्थामा गौतम छन् । तथापि उनले शनिवार पनि नेकपा अध्यक्ष प्रचण्डसँग भनेका छन्, ‘पार्टी विभाजनको पीडा मैले जति तपाईंले महसूस गर्नुभएको छैन, त्यसैले अहिले जे गर्ने हो, फेरि एक हुनसक्ने स्पेस राखेरै निर्णय गर्नुहोला । म अझै पनि एकताको पक्षमा छु ।’
सम्भावनायुक्त राजनीतिक खेलमा गौतमले भनेझैं एकताको सम्भावना पनि रहला तर यही बिन्दुमा उभिएर हेर्दा विभक्त नेकपाको कोर्स धेरै अघि बढिसकेको छ । तर समयभन्दा एक कदम अघि बढेझैं देखिने गौतम अहिले अनिर्णित अवस्थामा बसेको उनका निकटस्थहरूबाट पनि जँचेको छैन । यद्यपि गौतमले छिट्टै सही निर्णय गर्ने उनीहरूको भनाइ छ ।
‘बामदेव कमरेड स्वभावैले गलतको पछि लाग्नुहुन्न,’ नेकपा केन्द्रीय सदस्य बलराम बाँस्कोटाले भने, ‘अहिले प्रधानमन्त्रीबाट असंवैधानिक गतिविधि भएको छ, त्यसको पक्षमा उहाँ उभिनुहुन्न भन्ने हामीलाई विश्वास छ ।’ गौतमले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गर्दा विज्ञप्तिमार्फत विरोध गरेका थिए ।
गौतम तत्कालीन एमालेमा रहँदा ओलीलाई संसदीय दलको नेता, अध्यक्ष र पहिलो पटक प्रधानमन्त्री बन्न समेत भूमिका खेल्ने मुख्य व्यक्ति हुन् । दोस्रो संविधानसभा चुनावपछि संसदीय दलमा झलनाथ खनालसँग ओली प्रतिस्पर्धामा उत्रिए । त्यसबेला उनलाई गौतमले साथ दिए । महाधिवेशनमा अध्यक्ष जितेपछि संसदीय दल गौतमलाई जिम्मा दिनेसम्मको ओलीको आश्वासन थियो । पछि एमालेको नवौं महाधिवेशनमा ओलीलाई अध्यक्ष जिताउन गौतम लागे तर अध्यक्ष जितेपछि प्रतिबद्धताअनुसार ओलीले दुवै पद छोडेनन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरण गराउनमा पनि गौतमको उल्लेख्य भूमिका थियो । ओली र दाहालबीच सहमति जुटाउनमा गौतमको भूमिका थियो । एकीकृत नेकपाको ३० महिने जीवनमा बारम्बार संकटमा पुगेका ओलीलाई उद्धार गर्न गौतमको भूमिका अत्यधिक रह्यो । कान्तिपुर दैनिकमा खबर छ ।
नेकपा एकतायता सहकर्मीहरूबाट सबैभन्दा धेरै आश्वासन र सबैभन्दा धेरै धोका यिनै गौतमले पाएका छन् । एकतापछि पनि तुलनात्मक रूपमा हेर्दा गौतमलाई उपयोग गर्ने र धोका दिने उपक्रममा ओली नै अघि रहे । जस्तो कि गत साउन १३ गतेको नेकपा स्थायी कमिटी बैठक विवादको उत्कर्षमा पुग्दा गौतमले तयार पारेको सहमतिको ६ बुँदे ड्राफ्टले नेकपाको तात्कालिक टाउको दुखाइ कम गर्न ‘पेन किलर’को काम गरेको थियो । त्यही साँझ प्रधानमन्त्री ओली गौतम निवासमा उनलाई धन्यवाद ज्ञापन गर्न पुगेका थिए । त्यसअघि बैशाख २० गतेमा पनि ओलीको राजीनामा माग्न कस्सिएर पार्टी सचिवालय बैठकमा छिरेका उनी ओलीले अबको प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेपछि सपनामा पनि नसोचेको प्रस्ताव आएको भन्दै फुरुङ्ग परेका थिए । गौतमकै कारण त्यो बेला सचिवालयमा ओलीविरुद्ध निर्णय भएन ।
गौतमको अदलबदल हुने यही चरित्रमाथि टिप्पणी गर्दै त्यसपछिको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले भनेका थिए, ‘बामदेवजीलाई एमालेमा भकुण्डोजस्तो यता र उता कसरी बनाइँदो रहेछ, बल्ल बुझ्दैछु ।’
साउनको संकट टारिदिएका गौतमको गुन भने ओलीले महिना दिन पनि सम्झिएनन् । उनलाई राष्ट्रियसभा सदस्य बनाउने र नबनाउने भन्नेबारेमा नेकपामा लामो विवाद भयो । उसो त गौतमलाई सपना देखाउने मामिलामा दाहालको भूमिका पनि कम छैन । सुरूमा प्रधानमन्त्री बनाउने आश्वासन दाहालकै थियो । त्यसपछि प्रचण्ड र ओलीकै सक्रियतामा संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था कायम गर्ने र गौतमलाई प्रधानमन्त्री बनाउने वचन दिइयो तर उनलाई नै प्रधानमन्त्री बनाउने ध्येयसहित संविधान संशोधन गर्न बनेको नेकपाको कार्यदलले भने २ दिन पनि काम गर्न पाएन । उता गौतमको विडम्बना कस्तोसम्म भने सांसद बन्ने २३ औं पटकको प्रयासमा बल्ल उनी संघीय सांसद भएर राष्ट्रिय सभा छिर्न पाए ।
यो बेला गौतमले दुबै अध्यक्षहरूले आफूलाई चाहिनेभन्दा धेरै उपयोग गर्न खोजेको अनुमानसहित पर्ख र हेरको रणनीति अख्तियार गरेका छन् । तर टाकुरामा एक्लै खडा हुँदा उनलाई फाइदाभन्दा बेफाइदा नै बढी छ । ‘राजनीतिमा विश्वास हुन्छ, आफ्नो प्रतिबद्धताबाट ब्याक हुँदा सरोकारवालालाई नै घाटा हुन्छ, नेताहरू पटक–पटक बामदेवजीसँग सम्झौता गर्दै पछि हट्दै गर्नुभएको छ,’ नेता बाँस्कोटाले भने, ‘राजनीतिमा तिक्डमले चल्दैन तर धेरै पटक तिक्डम हुँदा बामदेवजी कोपभाजनमा पर्नुभएको छ, यसपालि गम्भीर भएरै सोच्नुहोला भन्ने विश्वास छ ।’
उसो त सुरूमा आफ्ना मुद्दाहरू स्थापित गरेर आफ्नो जबरजस्त उपस्थिति कायम गर्ने गौतम स्वयं पछिल्लो समय गल्दैगल्दै आए । महाकाली सन्धिको विरोधी कित्ताको अगुवाइ गरेका गौतमको राष्ट्रवादी छवि चुलिएकै बेला उनले २०५४ सालमा तत्कालीन कांग्रेससँग सहकार्य गरे र ४ महिनामै भंग पनि । उनैले फुटाएर बनाएको मालेले वामे सर्दै गर्दा सत्तारोहणको दु्रतगतिको बाटो रोजेपछि पुरानो छवि कायम रहेन ।
जनआन्दोलनयताका पार्टी र सरकारमा उनको भूमिका हेर्दा पनि गौतमले आफ्ना लागि मात्रै अडान र सम्झौता गरेको देखिन्छ । यसको फलस्वरूप उनी तीन पटक गृहमन्त्री भए, सरकारमा उपप्रधान र पार्टीमा उपाध्यक्ष तथा उपमहासचिव बनिसके ।
पार्टी एकतापछि माले बन्ने बेलैदेखिका आफ्ना वरिपरिका नेताहरूलाई बोलाएर अब बामदेवको कुनै गुट छैन, आफैंआफैं गरिखानु भनेका थिए । त्यसपछि उनलाई पछ्याएका नेता–कायकर्ता ओली र नेपालको कित्तामा बाँडिए । यसले पनि गौतम पार्टीमा सामूहिकताभन्दा धेरै व्यक्तिगत लाभहानि हेरेरै बसेको प्रस्ट देखाउँछ । त्यसमाथि तरंगित भइहाल्ने गौतमको बानीले कतिपय अवस्थामा उनलाई र कतिपय अवस्थामा पार्टीलाई नै हानि गरेको छ ।
गौतमको यही चञ्चलताका कारण होला, २०४८ सालतिर एमालेका तत्कालीन महासचिव मदन भण्डारीले भनेका थिए, ‘बामदेव गौतम पार्टीमा नहुँदा एमाले लुलो हुन्छ, बामदेव गौतम पार्टीमा हुँदा एमाले धुलो हुन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।