काठमाडौं – पूर्व सभामुख कृष्णबहादुर महरा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला दाङ हो । नेकपा विभाजित हुँदा महरा पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर लागेका छन् भने पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीतिर ।
केन्द्रमा नेकपा विभाजनको असर जिल्लासम्म पुग्दा दाङमा महराले चमत्कार गरेका छन् भने शंकर पोखरेललाई धक्का लागेको छ ।
मुख्यमन्त्री पोखरेलको गृहजिल्ला दाङको जिल्ला नेतृत्व प्रचण्ड र माधवकुमार नेपाल समूहमा लागेको छ । दाङमा नेकपा केन्द्रको नेता कृष्णबहादुर महरालाई मान्ने गरिन्छ ।
प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक, दक्षिणपन्थी र विचलनतर्फ उन्मुख भन्दै जिल्ला कमिटी बैठकले केपी ओलीको कदमविरुद्ध लाग्ने निर्णय गरेपछि बालुवाटारमा तनाव उत्पन्न भएको छ ।
दाङ जिल्ला इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टीकाराम खड्का र सचिव तुलाराम पुनले प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेका छन् । खड्का पूर्व एमाले तथा गौतम र पुन पूर्व माओवादी भए पनि सबै प्रचण्ड–नेपालतिर लागेका छन् ।
दाङमा १५५ सदस्यीय जिल्ला कमिटी रहेकोमा ९० जनाभन्दा बढी सदस्य आफूसँग रहेका अध्यक्ष खड्काले जनाएका छन् । खड्काले विभाजनले कसैको हित नगर्ने भन्दै अन्तिम अवस्थासम्म पनि नेताहरू मिल्नुपर्नेमा जोड दिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।