काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय ७ जना मन्त्रीहरूले राजीनामा दिएर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली पक्षको नेकपाका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए ।
‘मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ, केन्द्रीय कमिटीको बैठक सकिएपछि पहिलो काम नै यही हुन्छ,’ बिहीवार बालुवाटारमा बसेको नेकपा केन्द्रीय कमिटीको बैठकपछि मन्त्री ज्ञवालीले सञ्चारकर्मीलाई भने ।
सरकारले प्रतिनिधिसभा विघटनको भोलिपल्ट प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए । खाली रहेका ७ पदमा नयाँ मन्त्री थपेर पुनर्गठनको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
नयाँ मन्त्री बनाउँदा पूर्व माओवादी समूहबाट ओली पक्षमा आएका टोपबहादुर रायमाझी लगायतलाई प्राथमिकता दिइने जनाइएको छ । पूर्व माओवादी भएर पनि ओली पक्षमा कट्टर भएर लागेका लेखराज भट्टलाई समेत आकर्षक मन्त्रालय मिल्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।
प्रचण्ड–नेपाल समूहमा रहेका प्रभावशाली नेताहरूलाई मन्त्री बनाउने शर्तमा अझै आफूतिर तान्ने र मन्त्री बनाउने रणनीति समेत बालुवाटारको रहेको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।