काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीबाट धोका पाएर नेपाली कांग्रेसको शरणमा पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति शेरबहादुर देउवासँग सहकार्य अगाडि बढाएका छन् ।
प्रतिनिधिसभा संसदका बहुमत सांसदको हस्ताक्षर लिएर नेकपा, कांग्रेस र जसपाका शीर्ष नेताहरूले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । संसद विघटनको निर्णय लिने ओली र स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई अदालतको कठघरामा उभ्याउने नेताहरूको तयारी छ ।
ओली सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि त्यसको पुनःस्थापना गर्ने प्रयास गर्न तीनै दलका शीर्ष नेताहरूबीच सहमति जुटेको छ । सहमतिलाई मूर्त रूप दिन कांग्रेस पार्टी कार्यालय सानेपामा अहिले छलफल चलिरहेको छ ।
प्रधानमन्त्री ओलीले गैरसंवैधानिक हिसाबले प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेको र त्यसलाई राष्ट्रपतिले अनुमोदन गरेको दलहरूको आरोप छ ।
संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा सोमबार ११ रिट परेका छन् । ती रिटहरूउपर सुनुवाइ नहुँदै तीनै दलका शीर्ष नेताहरूले १३८ भन्दा बढी सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जाने निर्णय गरेका छन् ।
संसद विघटन गरेर सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।