काठमाडौं – सत्तारुढ नेकपा औपचारिक रुपमा फुट्न मात्रै बाँकी छ। पूर्व एमाले र पूर्व माओवादी मिलेर बनेको नेकपाभित्र केपी ओली पक्ष र पुष्पकमल दाहाल÷वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच शक्ति संघर्ष हुँदा फुटको संघारमा पुगेको हो। प्रधानमन्त्री ओलीले संसद विघटन गरिसकेपछि पूर्व माओवादीका रामबहादुर थापा हालका गृहमन्त्री भने केपी ओली यानिकी पूर्व एमालेको कित्तामा गएका छन्।
आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएपछि पूर्वमाओवादी पक्षका पाँच र माधव नेपाल पक्षका दुईसहित सात जना मन्त्रीहरूले राजीनामा दिएका छन्। पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर तथा पूर्वएमालेबाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराईले राजीनामा दिएका हुन्।
पूर्वमाओवादी पक्षबाट गृहमन्त्री बनेका थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा घोषणा गरेनन्। यसले उनीहरू दुवै जना प्रधानमन्त्री ओलीको साथमा रहेको जनाउ दिए। थापाले राजीनामा नदिनुको पछाडि गम्भीर कारण छ। उनलाई ओलीले एमालेको सहअध्यक्ष बनाउने बाचा दिएका छन्।
नेकपा एमालेमा सहअध्यक्ष भनेको अध्यक्ष केपी ओली र उनी पछिको दोस्रो बरियताको नेता हुनेछ। शनिबार अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट फर्किएर पुल्चोकस्थित मन्त्री निवास पसेर थापासँग भेटेका थिए। पछिल्लो समय नेकपाभित्रको विवादमा थापा ओलीकै साथमा देखिँदै आएका थिए। गत भदौमा विवाद उत्कर्षमा पुगेको बेला सानेपामा भएको प्रचण्ड–माधव नेपाल पक्षको भेलामा ओलीविरुद्ध अभिव्यक्ति दिएपनि उनी त्यसपछि फेरि ओलीतिर नै देखिँदै आएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।