काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र घनश्याम भुसाल बौद्धिक नेताका रूपमा चिनिन्थे । तर कृषि तथा पशुपंक्षी विकासमन्त्री बनेपछि भुसालको बौद्धिकता नाङ्गियो ।
किसानले धानखेतीमा मलखाद छर्न खोजे तर कतै पाइएन । घनश्याम भुसाल कृषिमन्त्री भएकाले केही आश गरे । तर घनश्याम भुसालको मार्क्सवादी ज्ञानले मलखाद ल्याउनै सकेन ।
धानखेतमा छर्न मल ल्याउन नसकेपनि गहुँका लागि युरिया ल्याउने कोसिस फेरि मन्त्री भुसालले गरे । तर गहुँमा छर्ने मल समेत किसानले चोरीतस्करीकै बाटोबाट जोहो गरेका छन् ।
मन्त्री घनश्याम भुसालको मल अझै आएन । मार्क्सवाद धेरै पढेर अरुलाई समेत पढाउने भइसकेका घनश्याम भुसालले किसानलाई समयमै मल दिनै सकेनन् । समाजवाद र साम्यवादको किताबी ज्ञान र घोकन्ते विद्या पढेका नेता भुसालले जनतालाई व्यावहारिक शासन प्रणालीको अनुभूति गराउन सकेनन् ।
तराईका किसान उखु बेचेको रकम भुक्तानी नपाएको भनेर काठमाडौंमा आएर आन्दोलन गरेको पूरै १ वर्ष भइसक्यो । किसान फेरि अहिले काठमाडौंमा आएर पुरानै माग राख्दै आन्दोलन गरिरहेका छन् । तर घनश्याम भुसालले किसानलाई पसिनाको कमाइ भुक्तानी गराउन पहल गर्न सकेनन्, किसानले उखुको भुक्तानी अझै पाएका छैनन् ।
नेपालका कम्युनिस्टका ‘आइडल’ मानिने घनश्याम भुसालले मन्त्री भएपछि जनताका लागि के गरे ? न जनताले थाहा पाए, न कम्युनिस्ट कार्यकर्ताले नै । मार्क्सवाद पढाउने ज्ञान सरकारमा जाँदा कता हरायो ? अत्तोपत्तो नै चलेन ।
घनश्याम भुसालले केही गर्न नसकिरहेको बेला नेकपाभित्र अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवाद भने चर्काे थियो । घनश्याम भुसालले विवाद मिलाउने खुबै कोसिस गरे । तर उनी सफल हुन सकेनन् । घनश्याम भुसालको मार्क्सवादी ज्ञान ओली र प्रचण्डको झगडा मिलाउन पनि काम लागेन ।
अध्यक्षद्वयको झगडा बढ्दै जाँदा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिन् । मन्त्रिपरिषद्ले संसद विघटनको निर्णय लिँदा घनश्याम भुसाल त्यही थिए, उनले यसलाई पनि रोक्न सकेनन् । मार्क्सवादी ज्ञानमा यसको औषधि थिएन कि ?
संसद विघटन भइसकेपछि भुसालसहित मन्त्रीहरूले राजीनामा दिएका छन् । मार्क्सवादी ज्ञानले राजीनामा दिनुबाहेक केही गर्न सकेको देखिएन । मन्त्रिपरिषद्बाट मल ल्याउने निर्णय गरेपनि किसानको घरदैलोमा मल पुर्याउने घनश्याम भुसालको सपना यही तुहिएको छ ।
अब भने पूर्व मन्त्री भइसकेका भुसालले आदर्शका गफ खुबै दिन सक्ने/पाउने छन् । शासकीय पदमा रहेर जनताको सेवा गर्न नसिकाए पनि मार्क्सवादी ज्ञानले विरोध गर्न, आलोचना गर्न, विवाद गर्न र गफ हान्न खुबै सिकाउँछ । घनश्याम भुसालले सिकेकै कला त प्रदर्शन गर्ने हुन् !
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।