काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद विघटनको सिफारिस अवैधानिक मात्रै नभई गैर जिम्मेवारीपूर्ण भएको बताएका छन्।
आइतबार बिहान बसेको न्त्रिपरिषद बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले राष्ट्रपतिले यो प्रस्ताव स्वीकृत गर्न नहुने बताएका छन्।
‘संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण पनि छ। राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्विकृत गर्नुहुन्न’, कोइरालाले लेखेका छन्।
यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको संसद विघटन सिफारिसप्रति कडा टिप्पणी गरेका छन्।
उनले सरकारको कदम संविधानविपरीत भएको भन्दै यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने बताएका हुन्।
‘मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ’, सामाजिक सञ्जाल फेसबुकमा पौडेलले भनेका छन्, ‘यो संविधान विपरीत छ, लोकतन्त्रको मर्मविपरीत छ र राष्ट्रहितविपरीत छ।’
उनले भनेका छन् ‘म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भर्त्सना गर्दछु।’
यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक ट्विट गर्दै अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने बताएका छन्।
‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ। संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं।अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ’, प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
यस्तै नेपाली कांग्रेसका युबा नेता तथा पुर्ब सांसद रामहरि खतिवडाले 'संसद विघटन संविधान र लोकतन्त्र विपरित छ गर्नु हुन्न । तर एउटा कुरा प्रमाणित भयो कम्युनिस्टले मुलुक चलाउन पनि सक्दैनन् ।' सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न प्रस्ताव गरेको केही समयमा नै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले संविधान निर्माण गर्दा ५ वर्षसम्म संसद चल्ने प्रावधान राखेको भन्दै प्रधानमन्त्री ओलीको लहडमा गरिएको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्। उनले यसको संवैधानिक व्याख्या समेत हुने बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।