काठमाडौं – कम्युनिस्ट सरकारले अपेक्षाकृत काम गर्न नसकेर विवादमा मात्रै मुछिएपछि अबको विकल्पका रूपमा जनताले नेपाली कांग्रेसलाई देख्न थालेका छन् । देशका विभिन्न क्षेत्रमा कांग्रेस प्रवेश गर्ने लहर बढेको छ ।
शनिबारै ललितपुरमा २०० जनाले पार्टी प्रवेश गरेका बेला मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा समेत विभिन्न पार्टी परित्याग गरी १०६ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका–१३ ले आयोजना गरेको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा १०६ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका जनाइएको छ ।
नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, विशेष अतिथि तथा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली लगायतले टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
हेटौंडा–१३ का तरुण अध्यक्ष बुद्ध लामाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको उपस्थिति थियो ।
पछिल्लो समयमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका लगायतका क्षेत्रमा नेपाली कांग्रेस मकवानपुरले पार्टी प्रवेश गराउने क्रम तीव्र बनाएको छ । प्रत्येक दिनजसो सय बढीको संख्यामा पार्टी प्रवेश गराउँदै आएको पार्टीका प्रतिनिधिले बताएका छन् ।
गत मंसिर २८ गते हेटौंडा उपमहानगरपालिका–१५ मा गत स्थानीय निर्वाचनमा पूर्व माओवादी तर्फबाट वडाध्यक्षको उम्मेदवार भएका लालबहादुर घलानसहित विभिन्न पार्टी परित्याग गरी २२३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।