काठमाडौं –पोखरामा शनिबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली गुटको भेला सम्पन्न भएको छ। भेलामा बोल्दै प्रचण्ड निकट मानिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा भावनात्मक रुपमा फुटिसकेको नै बताए।
‘पार्टी एकता जोगाउन हामी संघर्षरत छौं, भावानात्मक रुपमा फुटिसकेको पार्टी हामीले प्राविधिक रुपमा जोगाएका छौं,’ गुरुङले भने, ‘पार्टी एकता हामीले मात्र जोगाएका छौं।’ भेलाको अध्यक्षता गरेका नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सुरूमै सो भेलाको औचित्य पुष्टि गर्न पार्टी एकता जोगाउन ‘वार्मअप’ गरेको प्रष्टिकरण दिएका थिए।
त्यसपछि बोलेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले भने फोटो खिच्न र भाषण रेकर्ड नगर्न सहभागीलाई आग्रह गर्दै मोबाइल स्वीच अफ गर्न निर्देशन दिएका थिए। भेलामा सम्बोधन गरेका नेकपा गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले प्रचण्ड पक्षले झैं आफूहरूले गुटभेला गरेर अल्पमतमा पार्ने कोसिस आफूहरूले नगरेको बताए। उनले प्रचण्डको तरिका भन्दै पूर्वमाओवादीले विद्रोहकालमा बाबुराम भट्टराईमाथि गरेको कारबाही स्मरण गरे।
‘माओवादीले द्वन्द्वकालमा पटक(पटक बाबुरामलाई कारबाही गर्यो, आफ्नै सहकर्मीलाई निमर्म कारबाही गरेको उनीहरूको तरिका हो,’ मुख्यमन्त्री गुरुङले भने। माओवादीको जस्तो संस्कार पूर्वएमालेको नरहेको उनले बताए। नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रस्तावलाई ‘अभियोग पत्र’ भनेका गुरुङले एमालेको संस्कार त्यस्तो नरहेको बताए। ‘हाम्रो (एमालेको) संस्कार त्यस्तो थिएन, हाम्रो त समस्या पार्टीको एजेण्डामा राखेर छलफल गर्ने संस्कार थियो,’ गुरुङले भेलामा भने, ‘अभियोग पत्र पेश गर्ने थिएन।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।