काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालको कृषि क्षेत्रमा आफूले उल्लेख्य काम गरे पनि त्यसको नतिजा तत्काल नदेखिएको बताएका छन् ।
अर्घाखाँची सिमेन्ट उद्योग प्रालिको सहयोगमा रुपन्देहीको सियारी गाउँपालिका–२ मा निर्माण गर्न लागेको स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै कृषिमन्त्री भुसालले विगतको कृर्षि नीतिभन्दा भिन्न तरिकाले काम गरेका कारण यसको नतिजा देखिन समय लाग्ने बताएका छन् ।
किसानले खोजेको बेला मल दिन नसक्ने मन्त्री भुसालले गफ दिन भने छाडेका छैनन् । ‘पुरानो घरलाई तोडेर नयाँ घर बनाउने क्रममा केही सरसमानहरू यताउता छुट्न सक्छन्, यो क्रममा केही कमजोरी पनि हुन सक्छन्,’ मन्त्री भुषालले भने, ‘अब केही वर्ष पर्खिनुहोस् सबैले देखिने गरी रिजल्ट आउँछ ।’
कृषि मन्त्रालय अन्य मन्त्रालयजस्तो काम गरेको तत्काल देखिने मन्त्रालय नभएको भन्दै उनले कृषि मन्त्रालयलाई एउटा घरकी कान्छी बुहारीसँग तुलना गरेका छन् । उनले भने, ‘एउटी घरकी कान्छी बुहारीले घरका ससाना जति काम गरे पनि देखिँदैन हो, त्यस्तै यो मन्त्रालय पनि भएको छ ।’
मन्त्रालयले अहिले कृषि उत्पादनलाई भण्डारण गर्न सहज होस् भन्ने हिसाबले प्रत्येक पालिकामा गोदाम निर्माणको तयारी भइरहेको बताए । ‘अहिले कृषिकै कार्यक्रममा पौने ५ अर्ब बजेट पालिकामा पठाएका छौं,’ भुसालले भने, ‘१ महिनाभित्र प्रत्येक पालिकामा भण्डारण गर्न मिल्ने गरि गोदाम बनाउन थप १ अर्ब पठाउने तयारी गरेका छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।