आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई नेता नै नमान्ने प्रचण्ड–नेपाल पक्षको घोषणा, नेकपामा खतरनाक संकट

केपी ओलीलाई नेता नै नमान्ने प्रचण्ड–नेपाल पक्षको घोषणा, नेकपामा खतरनाक संकट

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १९ २०७७

  • 8.3K
    SHARES

  • केपी ओलीलाई नेता नै नमान्ने प्रचण्ड–नेपाल पक्षको घोषणा, नेकपामा खतरनाक संकट

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको गुटबन्दी र विवाद खतरनाक संकटउन्मुख देखिएको छ ।

    राजधानी काठमाडौंमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय युवा नेताहरूले पार्टी बैठकमा सहभागी नहुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेता नै नमान्ने घोषणा गरेका छन् ।

    शुक्रबार राजधानी काठमाडौंको थापाथली क्याम्पसमा स्थायी कमिटी सदस्यद्वय अष्टलक्ष्मी शाक्य र पम्फा भुसाल समेत सहभागी प्रचण्ड–नेपाल पक्षीय विद्यार्थीको भेलाले प्रधानमन्त्री ओलीलाई कडा चेतावनी दिएको छ । कार्यक्रममा अनेरास्ववियूका पुराना नेताहरू लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री लगायतका युवा सहभागी थिए ।

    यसअघि प्रधानमन्त्री ओली पक्षीय नेताहरूले मदन भण्डारी फाउन्डेसनको नाममा कार्यक्रम गर्दै प्रचण्ड पक्षमाथि हमला गर्ने गरेका थिए । गत माघ १९ गते सम्पन्न नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पार्टीभित्र गुटबन्दीको अन्त्य शीर्ष तहबाटै गर्नुपर्ने तथा जीवित र मृत नेताहरूको नाममा प्रतिष्ठान बनाएर सञ्चालित गुटबन्दीको अन्त्य तत्काल गर्ने निर्णय गरेको थियो । तर ओली पक्षले फाउन्डेसनको नाममा गुटबन्दीलाई निरन्तरता दिएपछि प्रचण्ड–नेपाल पक्ष समेत खुलेआम गुटबन्दी गर्न अग्रसर भएको छ ।

    शुक्रबारको प्रचण्ड–नेपाल पक्षीय भेलामा सहभागी युवाले प्रधानमन्त्री ओलीको खुलेर आलोचना गरेका छन् । भेलामा करीब २०० युवा विद्यार्थीको सहभागिता रहेको जनाइएको छ ।

    ‘हामीले व्यक्तिपूजा गर्न सक्दैनौं । आलोचनात्मक चेत जसमा छैन, जसमा मार्क्सवादी दृष्टिकोण छैन, त्यस्ता व्यक्तिको लहडमा पार्टी चल्न सक्दैन,’ भेलामा बोल्दै नेकपा सांसद झाँक्रीले प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै भनिन्, ‘हामीले कर्मशील मौरी शैलीमा अघि बढ्नुपर्छ, अरिङ्गाल होइन । पार्टी एकता प्रक्रियामा कहाँनेर चुकेको छ, त्यसको सही मूल्यांकन हुनुपर्छ । एकताका आधारहरुलाई बेवास्ता गरिएको छ । स्वार्थ बाँडिएको छ । यथास्थितिमा निमोनियाले सताएको फोक्सो बोकेको पार्टी एक भएर काम पनि छैन ।’

    भेलामा बोल्दै लेखनाथ न्यौपानेले समाजवादको आधार तयार गर्ने हिसाबले कम्युनिस्टहरू अघि नबढेको बताए । ‘व्यवहारमा अघि बढ्नु त अलग कुरा हो, बहससमेत हुन छाडेको छ,’ न्यौपानेले भनेका छन्, ‘अब जनतामाझ म नेकपाको कार्यकर्ता हुँ भनेर जाने हो भने जनताले ढुंगामुढा गर्ने स्थिति मैले देखेको छु ।’

    नेता न्यौपानेले ओलीको तिखो आलोचना गरेका छन् । ‘यदि सत्तामै जाने हो, मन्त्री नै चाहिएको हो, पैसा नै कमाउने हो भने पार्टी किन फुट्नुपर्‍यो ?’ न्यौपानेले प्रश्न गरे, ‘तर नयाँ आधारमा नयाँ ढंगले राजनीतिलाई सिफ्ट गर्ने हो भने अहिलेको जस्तो तरिकाले हुँदैन ।’ उनले यथास्थितिभन्दा नेकपा फुट्नु राम्रो हुने भाव व्यक्त गरे ।

    बैठकमा सहभागी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भोलि शनिबारका लागि निर्धारित नेकपा सचिवालय बैठक बस्ने बताइन् । ‘भोलिको सचिवालय बैठक निर्धारित समयमा बस्छ । ओली कमरेडले अस्तिको बैठकमा म आउन्नँ, छलफलमा भाग लिन्नँ, प्रचण्डको प्रतिवेदन म मान्दिनँ भन्नुभयो, यो भन्न उहाँले पाउनुहुन्न । निकास भनेको बैठकबाट नै हुन्छ,’ उनले भनिन्, ‘बैठकमा बस्दिनँ, मान्दिनँ भन्नेलाई नै ठूलो नोक्सानी हुन्छ ।’

    नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले पार्टीमा देखिएको विवाद पार्टीमै छलफल गरेर समाधान हुने बताइन् । ‘सकेसम्म सर्वसम्मत नभए हाम्रो संगठनात्मक समस्या हल गर्ने एउटा विधि छ, त्यो विधिमार्फत् हामी अघि बढ्छौं,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्तिको बैठकमा आउन्न भन्नुभएको हो । भोलि बस्ने सचिवालय बैठकमा उहाँ आउनुहुन्न भन्ने लाग्दैन ।’

    नेतृत्व भनेको समस्याको समाधान रहेको बताउँदै उनले समस्या समाधान नगर्ने नेतृत्व नेतृत्व हुन नसक्ने दाबी गरिन् । नेकपामा संकट बढिरहेका बेला प्रचण्ड–नेपाल पक्षले पनि छुट्टै भेला गर्नुलाई फुटको अभ्यासका रूपमा हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend