काठमाडौं - सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद टुटेको नौ दिन बितिसकेको छ ।
तीन वर्षअघि कसैलाई थाहापत्तो नदिई दशैंका बेला ‘वाम एकता’ गरेर चर्चामा आएका ओली र प्रचण्ड अहिले दुई ध्रुवमा किन आइपुगे ? भन्ने विश्लेषण सुरु भएको छ ।
पार्टीको कार्यकारी अध्यक्ष बनेलगत्तै आफूलाई पेल्ने गरी प्रचण्ड अघि बढेको भन्दै ओली पनि कार्यकारी ढंगले निर्देशन दिन थालेका छन् । जसले गर्दा ओली र प्रचण्डबीच दूरी बढेको हो ।
प्रचण्डसँग दूरी बढेसँगै ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको साथ खोजेका छन् । दशैंका बीचमा ओली र प्रचण्डबीच छलफल नभए पनि माधव नेपाललाई प्रधानमन्त्री ओलीले दुईपटक बालुवाटारमा गुप्त भेट गरिसकेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ओलीले नेता नेपालसँग पार्टीमा मिलेर अगाडि बढ्ने प्रस्ताव गरेका छन् । ‘मिलेर जाऔँ, अबको नेता तपाई नै हो ।
पार्टी महाधिवेशनबाट तपाईले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ,’ ओलीले गरेको प्रस्ताव उद्धृत गर्दै नेपाल निकट स्रोतले भन्यो । नेता नेपालले विधि र प्रक्रिया अनुसार अगाडि बढ्न सुझाव दिएका थिए ।
यसअघि कात्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले नेपालसँग भेटवार्ता गरेका थिए । कात्तिक ४ गतेको भेटवार्तामा पनि ओलीले मिलेर जानका लागि वरिष्ठ नेता नेपालसँग प्रस्ताव राखेका थिए ।
ओली र नेपालबीच सहकार्य भएमा पूर्वमाओवादी खेमा फेरि पनि बढारिने निश्चित छ । किनभने नेकपा अब प्रचण्डको हातबाट बिस्तारै पूर्वएमाले ओली र नेपाल समूहतिर गइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।