काठमाडाैं - दानबहादु बुढाथोकीले २०३६ सालमा एलएलसी दिएर सोही वर्ष नेपाली कांग्रेसको जग मानिने नेपाल विद्यार्थी संघको सदस्यता सर्लाही जिल्लाबाट लिए। सर्लाहीकाे चतुर्भेश्वर जनता माध्यमिकमा नेविसंघको गठन गरेर सदस्यता लिएका हुन्। २०३८ सालमा नेपाली कांग्रेसकै सदस्यता लिएका उनले आफ्नो आगामी यात्रा देशकै राजधानी काठमाडौंलाई बनाए। काठमाडौं आएपछि उनी कानुन पढ्न भर्ना भए।
उनी अहिले अधिवक्ता पनि हुन्। नेपाल ल क्याम्पसमा पनि नेविसंघ गठन गर्न बुढाथोकीले ठूलो भूमिका खेले। उनी त्यहीँ स्ववियू सदस्यमा चुनाव लडे। तर, चुनाव भने हारे। उनको पढाइको क्रम र कांग्रेस निकटको राजनीतिक यात्रा भने अगाडि बढिरह्यो। त्यसपछि उनी बैदेशिक रोजगारीका लागि गए।
करिब ६ वर्ष विदेश बसाई पछि उनी नेपाल फर्किए। उनी पेशाले कानून व्यवसायी भएकोले २०४१ देखि २०५१ सालसम्म उनले नेपालमै कानुन व्यवसायी भएर काम पनि गरे। उनी अहिले नेपाल बार एशोसियनको सदस्य पनि हुन्। विदेश रहँदा विदेशी महिलासँग नै उनले विवाह गरेर र नेपाल फर्केका हुन्। नेपाल आएपछि श्रीमान् श्रीमतीकै सल्लाहमा म्यानपावर व्यवसाय सञ्चालन गर्ने निर्णय गरे।
उनीहरुले न्यू गोरखा इन्टरनेशनल प्राली नामक मेनपावर सञ्चालन गरे। उनीहरुको बाट विशेष गरी फ्रि भिसा मार्फत मात्रै नेपालीहरुलाई विदेश पठाइन्छ। उनलाई सिस्टममै चल्नका लागि आफ्नी श्रीमतीले सधैँ सहयोग गरिन्। आफू वकिल भएकोले पनि प्रक्रिया, विधि नमिचेर पनि व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरणीय काम गरे। मेनपावर व्यवसायमा हात हालेको मात्रै १८ वर्ष भइसकेको छ। बुढाथोकी विदेश जानु अघि पनि नेपालका विभिन्न मेनपावरहरुमा कानूनी सल्लाहकारको भूमिका रहेर काम गरिसकेकोले नेपाल फर्किसकेपछि उनले त्यसैलाई व्यवसायको रुपमा अघि बढाउने निर्णय गरेका थिए।
उनी अहिले यो व्यवसायप्रति निकै सन्तुष्ट छन्। नेपाली कांग्रेस निकट वकिलहरुको संस्थाको सदस्य पनि हुन्। बैदेशिक रोजगार लोकतान्त्रिक फोरमको उनी वर्तमान सल्लाहकारसमेत हुन्। नेपाली कांग्रेस सर्लाही काठमाडौं सम्पर्क समितिको २ वर्ष यता सभापति भएर जिम्मेवारी सम्हाली रहेका छन्। १५ वर्षयता सर्लाही कांग्रेसको सक्रिय कार्यकर्ता हुन्। उनी कांग्रेसको क्षेत्रीय प्रतिनिधि पनि हुन्।
उनी राजनीति र आफ्नो समाजसेवालाई सँगसँगै अगाडि बढाइरहेका छन्। भूकम्प जाँदा होस् या हालसालैको कोरोनाले पारेको समस्याले थलिएकाहरुलाई राहत दिने क्रममा उनीसँगै अगाडि छन्। इट्टा भट्टामा रोजगार गुमाएकाहरुलाई आफ्नो जन्मथलो जाने व्यवस्था पनि उनकै नेतृत्वमा यही कोरोना कहरको बीच गरिएको महत्वपूर्ण काम हो। उनी मात्रै होइन उनका बुवा पनि सामाजिक चेत भएका हुनुहुन्थ्यो उनकै बुवाले जग्गा दान गरेकोले अहिले सर्लाहीमा उनको क्षेत्रमा विद्यालय स्थापना भएको छ।
अहिले त्यसलाई क्याम्पसकै रुपमा अगाडि लैजान लागिएको । यो महेन्द्र राजमार्गको हाइवेमा पर्छ। उनीले तत्कालीन नेपाली कांग्रेसका वरिष्ठ नेता केशव मैनालीको हातबाट कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन्। नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाका विशेष सहयोगी रामहरि जोशी पनि सँगै थिए।
जोशीले प्रजातन्त्रमा जनताको सेवा कसरी गर्ने, राजनीतिले समाजमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा प्रशिक्षण दिने गर्थे। दानबहादुरले उनको प्रशिक्षणमा थुप्रैपटक सहभागी हुने मौका पाएका छन्। पहिलेको भन्दा अहिलेको कांग्रेसमा बिचलन आएको उनी देख्छन्।
अहिले कांग्रेस खराब भयो भनेर हतोत्साही नभई सही मार्गमा यसरी लैजान सकिन्छ भनेर सुधार्ने प्रयास गर्न बीपी सिद्धान्तले भनेको उनले सम्भिए। कांग्रेस खत्तम भो भनेर लाखापाखा लाग्दा वीपीको समाजवादको सिद्धान्त खतरामा पर्ने चिन्ता उनमा छ। कांग्रेस आफू भित्रै धेरै सुधार्न जरुरी छ।
कांग्रेसका धेरै नेताहरु धेरै नै त्याग र बलिदान गरेर आएकाहरु छन्। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नेक्रममा पुराना नेताहरुले सल्लाह दिनुपर्ने उनको बुझाई छ। प्रशिक्षणको कमी भएकै कारण मान्छेले कांग्रेसको वास्तविक सिद्धान्त धेरैलाई थाहा नभएको उनी भन्छन्। गुटको राजनीतिले कांग्रेस भद्रगोल भएको जस्तो पनि दानबहादुर देख्छन्।
पार्टीको समस्या बुझेर देशको नेतृत्व गर्न गरी सुधारिएर अगाडि बढ्नु पर्ने उनको बुझाई छ। उनी प्रमुख प्रतिपक्षी दलको भूमिका राम्रोसँग निर्वाह नगरेको भनेर गरिने आलोचना तथा टिप्पणीको खण्डन गर्छन्। यसपटक जनताले नै कांग्रेसलाई सत्ताबाहिर राखेको र सधैँ कांग्रेसले नै विगारेको भनेर आरोप लगाउनेलाई सत्ता सुम्पिएको उनको बुझाई छ।
त्यसैले पनि यसपटक कांग्रेस पर्ख र हेरको रणनीतिमा अडिग भएको उनी मान्छन्। तत्कालीन माओवादी र एमालेले कांग्रेसले केही गरेर भनेर भन्ने गरेकै कारण यसपटक कांग्रेसले केही नबोलेको उनको दाबी छ। यो तीन वर्षको कम्युष्टि शासनले जनता अत्तालिएको भन्दै उनले आगामी निर्वाचन पछि कांग्रेसलाई नै जनताले पुन सरकारमा पठाउने विश्वास व्यक्तगरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।