काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशन हुने कि नहुने भन्ने अन्योलताका बीच महाधिवेशन गर्न सकिने खाका प्रस्तुत गरेका छन्। आइतबार मात्रै सुदूरपश्चिमका नेता कार्यकर्तासँग १३ औँ महाधिवेशन प्रतिनिधिहरूलाई कायम राखेर १४ औँ महाधिवेशन गर्न सकिने विकल्प रहेको बताएका पौडेलले आज सोमबार फेसबुकमा आफ्नो भनाई सार्वजनिक गर्दै फागुनमै महाधिवेशन गर्नुपर्ने बताएका हुन्।
उनले अबको पाँच महिनामा आवश्यक तयारी गरेर फागुन ७ मै महाधिवेशन गर्न सकिने बताएका छन्। ‘बाँकी रहेको ५ महिना सिङ्गैको अवधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो,’ पौडेलले भनेका छन्, ‘त्यो पनि नगरेर अधिवेशन टार्ने , नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिन्छ भन्ने मेरो आशय हो ।’
उनले अहिलेको पार्टीको नेतृत्वको कार्यकाल फागुनमा सकिन लागेकाले फागुनबाट नयाँ नेतृत्व आउनुपर्ने बताए। ‘नेपाली कांग्रेसको वर्तमान विधान अनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्ष तोकिएको छ। असाधारण परिस्थिति परेको खण्डमा केन्द्रिय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि वढाउन सक्नेछ भनिएको छ । जस अनुसार विधानत आउँदो फागुन उता यो कार्यसमिति कायम रहन सक्ने आधार समाप्त हुदैछ’ उनले भनेका छन्।
सभापति शेरबहादुर देउवाको नियत अधिवेशन टारेर पार्टीलाई संकट तिर धकेल्ने तिर रहेको आरोप पनि पौडेलले लगाएका छन्। ‘वर्तमान नेतृत्वको नियत हेर्दा अधिबेशननै टारेर पार्टीलाई संकट तिर धकेल्ने कोशिश देखिन्छ,’ उनले भनेका छन्, ‘किनभने एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराइएको छैन ।’
पौडेलले एक महिनामा सम्पन्न हुनसक्ने समायोजनको काम अहिलेसम्म नभएकोले क्रियाशिल सदस्यता नवीकरण, नयाँ वितरण रोकिएर बसेको र अधिवेशन अन्योल हुने अवस्था आएको बताएका छन्। सभापति देउवा अधिवेशन भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग कार्यकाल सकिन पाँच महिनामात्रै बाँकी छँदा अहिले एकलौटी रुपमा धमाधम गरिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।