काठमाडौं - उपाध्यक्ष वामदेव गौतमले फागुन १४ गतेको पार्टी सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न दबाब दिएपछि प्रधानमन्त्री केपी ओली निकै तनावमा परेका छन् ।
आफूलाई राष्ट्रिय सभामा लैजानुपर्ने र मन्त्री पनि बनाउनुपर्ने उनको मागले नेकपामा केहीअघि देखिएको किचलो फेरि बल्झिने दिशामा अघि बढेको छ ।
वामदेवलाई सांसद बनाउँदा युवराज रिसाउने, युवराजलाई सांसद बनाउँदा वामदेव रिसाउने मात्र होइन, आफ्नै प्रधानमन्त्रीको कुर्सी पनि खतरामा पर्ने भएकाले ओली दोहोरो तनावमा परेका छन् ।
प्रधानमन्त्री ओलीले तीन दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा गौतमलाई राष्ट्रिय सभामा लैजाने च्याप्टर क्लोज्ड भइसकेको बताएका थिए । तर, त्यसकै पर्सिपल्ट गौतमले आफूलाई राष्ट्रिय सभामा लैजान र मन्त्री बनाउन माग गरेपछि प्रधानमन्त्री सकसमा परेका हुन् ।
उनी आफ्ना प्रियपात्र खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्थे । त्यसैले उनलाई पुनः राष्ट्रिय सभाको सदस्य मनोनीत गर्ने पक्षमा थिए । १८ भदौमा बस्ने नेकपा सचिवालय बैठकमा वामदेव र युवराजमध्ये को सांसद बन्ने भन्ने छिनोफानो हुनेछ ।
नेकपाका शीर्ष नेताहरू अर्थमन्त्री खतिवडाप्रति निकै असन्तुष्ट छन् । ओलीको कृपाले मात्र युवराजले दोहोरो तेहोरो सुविधा पाउँदै आएका छन् । त्यसैले बैठकमा गौतमलाई सांसद मनोनीत गरेर अर्थमन्त्री बनाउने प्रस्ताव हुने स्रोतले बताएको छ ।
तर, त्यसअघि नै प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई मनाउने खेल जारी राखेका छन् । यसका लागि बालुवाटारमा ओलीका दूतहरू सक्रिय भएर लागेका छन् ।
बरु श्रीमती तुलसा थापालाई मन्त्री बनाउने आश्वासन दिएर गौतम फकाउने खेलमा लागेको देखिएको छ । जसलाई वामदेवले अस्वीकार गरेको उनी निकट नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।