काठमाडौं- चीनमा बनाइएको कोरोना भाइरसविरुद्धको खोप नेपालमा परीक्षण गर्ने सबै तयारी अन्तिम अवस्थामा पुगेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अधिकारीहरुले नेपालमा रहेको होङ्सी सिमेन्ट उद्योगमा कार्यरत मजदुरमा सो खोप परीक्षणका लागि अनुमति दिने तयारी भएको बताएका छन्।
चीनले तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायलका पाँच सय मजदुरमा परीक्षणका लागि अनुमति मागेको छ।
परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले होङ्सीका कामदारमा क्लिनिकल ट्रायलका लागि अनुमति दिने कार्य अन्तिम चरणमा रहेको बताए।
'भ्याक्सिनको क्लिनिकल ट्रायलको बारेमा भर्चुअल बैठक भएकाे छ । नेपाल पनि भ्याक्सिन निर्माण गर्ने उपयुक्त कम्पनीको क्लिनिकल ट्रायलमा जानु पर्ने भन्ने विषयमा सहमति भएकाे छ । केही कम्पनीहरुले इच्छा पनि देखाएका छन्। जसमा चीनको होङ्सीसँग छलफल अन्तिम चरणमा छ। एकदुई दिन छलफल पछि यसको अन्तिम टुङ्गो लाग्छ।' डा ज्ञवालीले भने ।
नेपालमा चीनको सिनोभ्याक बायोटेक नामक कम्पनीले विकास गरेको खोपको परीक्षण हुन लागेको हो। त्यसैगरी अक्सफोर्डले निर्माण गरेको खोपको क्लिनिकल ट्रायलको विषयमा समेत कुराकानी भइरहेको सदस्य सचिव ज्ञवालीले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।