काठमाडाैं- नेपालमा आउँदो पुससम्ममा कोरोना भाइरसको संक्रमणबाट करिब ५० हजारको मृत्यु हुनसक्ने तथ्य अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनले सार्वजनिक गरेकाे छ । बेलायतको अन्र्तराष्ट्रिय विकास विभागले सार्वजनिक गरेको उक्त आधिकारीक रिपोर्टले यस्तो संकेत गरेकाे हाे ।
बेलायतको सरकारी बेवसाइटमा प्रकाशित रिपोर्टको अनुसन्धान प्रोफेसर लिसा ह्वाइट, डा निकोलस लेक्फोर्ड, डा सुनिल पोखरेल, डा दिप्ती लता र डा राशिद जमानले गरेका हुन् ।
अनुसन्धानकर्ताहरुले नेपालमा आउँदा केहि महिनामा बढ्ने कोरोना भाइरसको संक्रमणको वृद्धिदरलाई तीन फरक–फरक सुरक्षात्मक एवं नियन्त्रणात्मक ढंगमा विभाजन गरेर अध्ययन सार्वजनिक गरेका हुन् ।
अनुसन्धानकर्ताहरुले सबैभन्दा बढी संक्रमण र मृत्यु, मध्यम संक्रमण र मृत्यु र कम संक्रमण र मृत्युका अनुसार सार्वजनिक गरेको अध्ययनले यदि सबैभन्दा बढी संक्रमण र नियन्त्रण कम भएको अवस्थामा सन् २०२० को अन्त्यसम्म अर्थात पुसमहिनासम्ममा ४९ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरेका छन् ।
अनुसन्धानकर्ताहरुले उच्च सुरक्षा एवं नियन्त्रण रणनीति, मध्यम सुरक्षा एवं नियन्त्रण रणनीति र न्युन सुरक्षा एवं नियन्त्रण रणनीतिका आधारमा नेपालमा संक्रमण र मृत्युदर कति हुन्छ भनेर सार्वजनिक गरेका हुन् ।
जसअनुसार,
न्यून नियन्त्रण रणनीतिअनुसार २०२० को अन्त्यसम्म कूल जनसंख्याको ८१ प्रतिशत संक्रमित हुने, ४९ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरेका छन् ।
यसअनुसार २०२० को जुलाइको सुरुदेखि सेप्टेम्बरको सुरुसम्म संक्रमणको ‘पीक समय’ हुने र यतिबेला दैनिक ८ लाख ८६ हजार नयाँ केस थपिने तर राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको १० प्रतिशतभन्दा कम अर्थाथ ७५ हजार केस मात्र दर्ता हुने प्रक्षेपण गरिएको छ ।
मध्यम नियन्त्रण रणनीति अपनाइएको अवस्थामा २०२० को अन्त्यसम्म कूल जनसंख्याको ७३.१ प्रतिशत कोरोनाभाइरसबाट संक्रमित हुने र ४४ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरिएको छ ।
यो रणनीति अपनाइएको अवस्थामा भाइरस संक्रमणको पीक समय मध्य जुलाइदेखि अक्टोबरको सुरुवातसम्म हुनेछ ।
यो समयमा दैनिक संक्रमणको केस ५ लाख ४८ हजारसम्म पुग्नेछ जसको १० प्रतिशत अर्थात ५० हजार दैनिक केस मात्र देशको राष्ट्रिय स्वास्थ्य प्रणालीमा दर्ता हुनेछ ।
यो रणनीति अपनाउँदा न्यून अवरोध रणनीति भन्दा दैनिक संक्रमण दर १८ प्रतिशतले घट्नेछ भने देशको स्वास्थ्य प्रणालीमा दर्ता हुने नयाँ केस दैनिक २५ हजारले घट्नेछ । यो रणनीतिले मृत्युदर ५ हजारले घटाउनेछ ।
उच्च अवरोध रणनीति अपनाएको अवस्थामा ६४.८ प्रतिशत जनता संक्रमित हुने र ३२ हजार ९ सयको मृत्यु हुने प्रक्षेपण गरिएको छ ।
यो रणनीति अपनाइएको अवस्थामा भाइरस संक्रमणको पीक समय मध्य जूनदेखि अक्टोबरको अन्त्यसम्म हुनेछ ।
यो समयमा दैनिक संक्रमणको केस ५ लाख ३१ हजारसम्म पुग्नेछ जसको १० प्रतिशत अर्थात ४६ हजार ८ सय दैनिक केस मात्र देशको राष्ट्रिय स्वास्थ्य प्रणालीमा दर्ता हुनेछन्।
यद्यपी अनुसन्धानकर्ताहरुले न्युन, मध्यम र उच्च सुरक्षाका उपायँहरु भन्नाले लकडाउन, निषेधाज्ञा, आन्तरिक र बाह्य उडानमा कडाइलगायतका कृुराहरु भनेका हुन् । नेपाल सरकारले केहि हदसम्म यस्ता सुरक्षाका उपायँहरु कायम नै राखेको छ । जसका कारण आत्ति हाल्नु पर्ने स्थिती भने हैन् ।
जनसंख्याको ८१ प्रतिशत संक्रमित हुनु भनेको धेरै नै ठूलो संख्या (करिब २ करोड बढी) हो । त्यसकारण सम्भवत सुरक्षाका उपायँहरु कायम नै राखिराख्दा यति धेरै संक्रमण फैलिन सक्दैन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।