काठमाडौं– अन्ततः नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका सामु गलेका छन्। उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिन नपर्ने बताएका छन्। यसअघि दुवै पदबाट ओलीले राजिनामा दिनुपर्ने माग उनले सचिवालय र स्थायी कमिटी बैठकमा गरेको थिए ।
एपी–वान टेलिभिजनमा पत्रकार भुषण दाहालसँग कुराकानी गर्दै प्रचण्डले पार्टीमा विवाद पदका लागि नभएको भन्दै पदकै लागि भएको भए पार्टी एकता र निर्वाचन बेला गठबन्धन समेत हुन नसक्ने बताए।
विवाद समाधानका लागि गठित कार्यदलले स्थायी कमिटीमा उठेका विषयमा छलफल गरेर समाधानका लागि प्रस्ताव तयार पार्ने समेत उनको भनाइ छ।
कोरोना महामारीका कारण तत्कालै केन्द्रीय समिति बैठक बस्न सम्भव नरहेको पनि उनले बताए। मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ।
प्रचण्डले पार्टीभित्रको विवाद साता दिनभित्र नयाँ निष्कर्षसहित अगाडि बढ्ने दावी समेत गरेका छन्। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा पनि समझदारी बन्ने उनले बताए।
‘एमसिसी पनि समझदारी बन्नेमा गयो भन्दा हुन्छ। यसबारे कार्यदलले एउटा रिपोर्ट पेश गरिसकेको छ,’ उनले भने, ‘यसलाई जस्ताको तस्तै स्विकार्नु पर्छ भन्ने र स्विकार्नै हुन्न भन्नेहरू पार्टीमा निकै कम छन्। सम्भव भएजति परिमार्जन गर्दा नै हुन्छ भन्ने मत बलियो छ।’
बाहिर हेर्दा प्रचण्ड आफ्नो खोजीमा छ जस्तो देखिए पनि आफूले कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन बलियो बनाउन लागेको उनको दावी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।