काठमाडौं– चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको गणमा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ४० पुरुष र २ महिला छन् । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीका संक्रमितहरु १९ देखि ५५ वर्ष उमेर समूहका छन् ।
कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए ।
यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच संक्रमित छन् । दुई जना सफाइ गर्ने सहयोगी हुन् ।
गण्डकीमा थपिए २५ जना
पोखराका १५ जनासहित गण्डकी प्रदेशका विभिन्न ठाउँमा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा ६ वर्षीय बालकदेखि ८७ वर्षीय वृद्धसम्म छन् । पोखरा महानगरपालिकामा १० वर्षीय बालकसहित ५ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।