काठमाडौं–कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यससँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा् संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ ।
समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।
विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
गैरआवासीय नेपाली संघ, नेपाल सरकार र कूटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकबाट २९ हजार ७ सय ८० जना नेपालीको उद्धार भएको छ ।
यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।