काठमाडौं–लकडाउनको कारण अदालत पूरै खुलिनसकेता पनि मौकामा चौका हान्दै एक धनाढ्यले कर्तव्यज्यान मुध्दामा सफाइ पाएर हिजो बिहिवार दिउँसो डिल्लीबजार कारागारबाट मुक्त भएका छन् !
२१ वर्षका पृथ्वीबहादुर मल्लले हाँकेको बा.१४ च ६१२३ नम्बरको कारले किचेर गत मंसिर २८ गते बिहान झिसमिसेमा बुढानीलकण्ठ नजिकै ३८ वर्षकी लीला देवकोटाको निधन भएको थियो । देवकोटा मन्दिर दर्शन गरेर घर फर्कंदै थिइन् ।
परिवार, प्रहरी र सरकारी वकिललाई ५४ लाख दिएर उक्त प्रकरण उतिबेलै राफसाफ पार्न लागिएको चर्चा थियो ! छ महिनाअघि प्रहरीले दायर गरेको सवारी ज्यानसम्बन्धी यही मुद्दामा हिजो सर्वोच्च अदालतले मल्ललाई सफाई दिएको छ ।
प्रहरीले घटनास्थलको प्रकृति र सिसीटीभी फुटेजको आधारमा कारले ठक्कर दिएपछि ढलेकी महिलालाई गाडी ब्याक गरेर मारेको अभियोगअन्तर्गत मल्लमाथि ज्यान मुद्दा दावी गरे पनि अदालतले सारा तथ्य प्रमाणप्रति आँखा चिम्लिएको हो ।
मल्ल अमेरिकाबाट बिदामा नेपाल आएको केही दिनमै भएको उक्त घटनाको बखत कारभित्र उनका साथी २० वर्षका करिश मास्के र अन्य दुईजना केटी पनि थिए । प्रहरीको मुचुल्कामा चालकले मादकपदार्थ सेवन गरेको पाइएको थियो । अघिल्लो रात शिवपुरीस्थित एउटा रिसोर्टमा ‘नाइट हल्ट’ गरेर बिहानीपख फर्कने क्रममा उक्त घटना भएको हो ।
कारमा रहेका दुईजना युवतीमध्ये एउटी मोडल परमिता राज्यलक्ष्मी राणा थिइन् । जसले घटनाको झण्डै एक महिनापछि वास्तविकता उदाङ्गो पार्दै लामो स्टाटस लेखिन् । जसमा उनले कारमा रहेका चारजनाको कारण एउटी निर्दोष महिलाको ज्यान गएकोमा आफू दुःखित भएको बताएकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।