एजेन्सी -सर्ट भिडियो शेयरिङ एप टिककटमाथि दक्षिण कोरियाले जरिवाना तोकेको छ । बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । सो रकम नेपाली रुपैयाँमा गणना गर्दा १ करोड ८५ लाख हुन आउँछ ।
टिकटकले त्यहाँ गर्ने वार्षिक आयको ३ प्रतिशत मात्रै जरिवाना कोरियाले तोकेको हो । गत वर्ष सुरु भएको अनुसन्धानका क्रममा नियामकहरुले टिकटक प्रयोगकर्ताका डाटाहरु अनधिकृत ढंगले प्रयोग गरिएको र त्यसरी डाटा दुरुपयोगबाट पीडित हुनेमा बालबालिकाहरु समेत रहेको पत्ता लगाएका थिए ।
टिकटकको त्यस्तो गतिविधिले स्थानीय गोपनियता कानूनको उल्लंघन गरेको र प्रयोगकर्तालाई उनीहरुका व्यक्तिगत डाटाहरु अन्य देशमा समेत पठाइन्छ भन्ने कुरा टिकटकले जानकारी नगराएको ठहर अनुसन्धानको छ ।
उता टिकटकले भने कानून मुताविकका दायित्वहरु पालना गर्न आफु गहन रुपमा प्रतिबद्ध रहेको जनाएको छ । टिकटक प्रवक्ताले भनेका छन्, ‘हामीहरुले डाटा प्राइभेसीको मामिलामा निकै उच्चकोटीको मापदण्डमा पालना गरिरहेका छौँ र हाम्रो मापदण्डलाई अझै ससक्त बनाउनका लागि निरन्तर सुधारको कार्य गर्दछौँ ।’
चिनियाँ कम्पनी बाइटडान्सले बनाएको टिकटक लगायत अन्य एपहरु पनि गोपनियताको विवादमा पर्दै आएका छन् । भारतमा यसअघि टिकटकमाथि प्रतिबन्ध लागि सकेको छ भने अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।