चितवन । निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर जंगली हात्तीको मृत्यु भएको छ। चितवन निकुञ्ज कार्यालयका अनुसार गोली लागेर दाह्रा नहुने भाले जंगली हात्ती मकुना मरेको हो।
कार्यालयले आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएको र उक्त गोली लागेर मकुनाको मृत्यु भएको जनाएको हो। बुधबार दिउँसो साढे तीन बजे तिर निकुञ्जको पूर्वी क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा निकुञ्ज कर्मचारी र मकुनाबीच जम्काभेट भएको थियो।
निकुञ्जका सुचना अधिकारी समेत रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार उक्त हात्तीलाई निकुञ्जको भित्री इलाकामा पठाउन ५–६ वटा हात्तीमा निकुञ्जको पूर्वी सेक्टरका कर्मचारी र निकुञ्ज सुरक्षामा खटेको नेपाली सेनाको नयाँ गोरख गण क गुल्म सौराहाका सेनाहरु दैनिक गस्ती गर्दै आएका थिए।
‘मकुनाले गस्तीमा रहेको हात्ती चुरे गजलाई सिधै आक्रमण गर्न आयो। अन्य विकल्प नभएका कारण दुई राउण्ड हवाइ फायर भयो। त्यसपछि पनि हात्ती नभागेर आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तमाङ हात्तीबाट खसेका कारण ज्यानको सुरक्षा गर्न निकै कठिन भयो’ निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यो बेला थप तीन राउण्ड हवाइ फायर गरेको निकुञ्जले जनाएको छ।
सो हवाइ फायरपछि मकुना हात्ती केही पर भागे पनि लगत्तै फर्केर आएको थियो। त्यसपछि एक राउण्ड गोली प्रहार गरेको निकुञ्जले जनाएको छ।
नेपालको भाले हात्तीको लामो दाह्रा हुन्छ। दाह्रा नहुने भाले जंगली हात्ती मकुना निकै नै कम हुन्छन्।
गत वर्षको मंसिरमा मकुना चितवन कुमरोजमा देखा परेको थियो। यो वर्षको असोजदेखि मकुना निकुञ्ज आडको बस्ती सौराहा कुमरोज क्षेत्रमा देखा परेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।