काठमाडौं - नेपाली कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएलगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दंग देखिएका छन् ।
झापा–३ मा आफ्ना परम्परागत प्रतिद्वन्द्वी सिटौला राष्ट्रिय सभामा गएपछि असुरक्षित महसुस गरेका लिङ्देन खुसी देखिएका हुन् । अब राप्रपा कोशीमा गठबन्धनसँग मिल्न लचक भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशमा सत्ता गठबन्धनसँग सहकार्य गर्न तयार भएको छ । कोशी प्रदेश सभा विघटन हुन नदिन सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिन प्रस्ताव गरेको थियो । तर आइतबारसम्म राप्रपा पर्ख र हेरको अवस्थामा थियो ।
सोमबारदेखि नै राप्रपा सभामुख लिन तयार देखिएको छ । कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन दलहरूको बैठक जारी छ । कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक बसेको हो ।
नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ । प्रमुख प्रतिपक्ष दल एमाले दलको बैठक पनि बसिरहेको छ । कांग्रेस संसदीय दलको बैठकमा सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिने सांसद अमृत अर्यालले जानकारी दिए ।
राप्रपाले भने दलीय सहमतिका आधारमा सभामुख पद लिने निर्णय गरेको छ ।
बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापासहित पदाधिकारीसमेत सहभागी थिए । सत्ता गठबन्धनले सभामुख पद राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।