काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताए । जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने उनको भनाइ थियो ।
‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,’ उनले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’
महतले जलविद्युत् क्षेत्रमा नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने बताए ।
उनले नेपाल–भारत व्यावसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको स्मरण गराउँदै उनले लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति नियम सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।