काठमाडौं - अघिल्लो शुक्रबार ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुदन रावत र डोटीका २२ वर्षीय युवक वीरेन्द्र शाहको मृत्यु भएको हो ।
बालकुमारीमा भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो । प्रहरीले अश्रुग्यास, गोली र लाठी प्रहार अत्यधिक बल प्रयोग गरेको थियो ।
गत शुक्रबार सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भयो । उनी बंगलादेशको ढाकामा एमबिबिएस अध्ययन गर्दै थिए ।
बाबुको निधनपछि घर आएका उनी अनाहकमा प्रहरीको गोलीको सिकार बने । उनको टाउकोमै गोली लागेको छ । तीन दिन बितिसक्दा पनि उनको शव घटनास्थलमै छ ।
प्रहरीले धैर्यता गुमाउँदा भविष्यका एक डाक्टर मारिए । प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव अझै घटनास्थलबाट उठाउन दिएका छैनन् ।
शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शय्याको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगर प्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान रहेपछि कुनै निष्कर्ष निस्किएन ।
आज बिहान पुनः जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल हुँदैछ । स्थानीयहरु शुक्रबार दिउँसोदेखि नै मृतकको शव सडकमै राखेर बसेका छन् ।
उनीहरु माग पूरा नहुन्जेल शव उठाउन नदिने भन्दै कठ्यांग्रिदो चिसोमा सडकमा बसिरहेका हुन् । एक साताभित्र प्रहरीको गोलीबाट दुई जिल्लामा तीन युवकले ज्यान गुमाए । दुवै घटनाले नेपालको गृह प्रशासन कतिसम्म गैरजिम्मेवार र निरीह रहेछ भन्ने देखाउँछ ।
गृह मन्त्रालयको नेतृत्व अहिले माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरिरहेका छन् । दुई जिल्लामा भएका घटनाबाट उनमा गृह मन्त्रालयको नेतृत्व लिन सक्ने क्षमता रहेछ भन्ने पुष्टि हुन्छ ।
दुई घटनापछि गृहमन्त्री श्रेष्ठको बोल्ती बन्द छ । आफैं रोगी श्रेष्ठले गृह मन्त्रालय चलाउने सामथ्र्य राख्न सकेका छैनन् । तर पनि उनले पद ओगटिरहेका छन् ।
तीन निर्दोष नागरिक प्रहरीको गोलीबाट मारिँदा नैतिकताका आधारमा श्रेष्ठले राजीनामा दिनुपर्ने हो । तर निधारमा तीनवटा कलंकको टीका लाग्दा समेत उनी कुर्सीमै छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।