काठमाडौं - पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा गंगा आरति र कोर क्षेत्रमा हुने दिप प्रज्जवलनको भिडियो खिच्न नपाउने सूचना जारी गरिएकोप्रति असहमति जनाएको छ ।
कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रवार सूचना जारी गर्दै यसमा कोषको संलग्नता नरहेको प्रस्ट पारेकी हुन् ।
पशुपति क्षेत्र विकास कोषको अत्यन्त जरुरी सूचना भन्दै निकालिएको सूचनामा भनिएको छ– ‘बुढासुब्बा डिजिटल प्रालिले यस श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको वागमति नदी किनारमा हुने गंगा आरति र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ ।
यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउँद छौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएकोप्रति कोषको गम्भिर ध्यानाकर्षण भएको छ ।
उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।’
कोषको लोगोको दुरुपयोग भएको विज्ञप्तिमा दावी गरिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त सूचना बूढासुब्बा डिजिटल प्रालिले केही समयअघि जारी गरेको थियो ।
उक्त सूचनामा श्री पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरिएको उल्लेख छ ।
करिव तीन महिनाअघि नै जारी सूचना बिहीबारदेखि सामाजिक सञ्जालमा भाइरल छ । कोषले एक लाख ६० हजारमा डिजिटल राइट्स बिक्री गरेको बताइएको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।