काठमाडौं - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको पद धरापमा परेको छ ।
ललितपुरको बालकुमारी घटनामा दुई निर्दोष युवाले ज्यान गुमाएपछि अहिले गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई राजीनामा दिन चौतर्फी आवाज उठेको छ ।
सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिए ।
‘मेरो भिन्न कुरा छ । यो घटना के घट्यो कसरी घट्यो भन्ने दुनियाँले देख्यो । समिति पनि बनाउनुभयो । तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । तपाई शालीन व्यक्ति, अव तपाई राजीनामा दिनुस्,’ उनले भने ।
गृहमन्त्री श्रेष्ठले राजीनामा दिएपछि समस्या समाधान हुने उनले बताए । ‘ठाउँका ठाउँ गोली हानेर मार्न कहाँ मिल्छ । तपाईंले मुलुक चलाउन सक्नुभएन । सबैतिर असन्तुष्टि छ । त्यसैले तपाईं राजीनामा दिनुस्,’ सांसद राईले भने ।
गृहमन्त्री श्रेष्ठ केही समयदेखि निष्क्रिय देखिएका छन् । उनी मन्त्रालयसमेत जान सकेका छैनन् ।
मुटुका विरामी भएकाले अस्पताल गइरहनुपर्ने हुनाले श्रेष्ठको कार्यक्षमता शून्य देखिएको हो । त्यसमाथि पनि प्रहरीले जिम्मेवारी पूरा नगरेको देखिएको छ ।
गृहमन्त्री श्रेष्ठले आफूलाई बचाउन इपिएसका प्रमुखलाई दोष थोपरेका छन् ।
‘केही दिनदेखि बालकुमारीमा असन्तुष्ट युवाहरुले गरिरहेको प्रदर्शनको विषयमा आफूले घटना हुनुभन्दा अघि ईपीएस शाखा प्रमुख गुरुदत्त सुवेदीलाई बोलाएर जानकारी लिएको थिए । तर, उहाँले केही हुँदैन ३ बजेसम्म बसेर जान्छन् भनेर हल्का जवाफ दिनुभयो, यो हामीलाई चित्त बुझेको छैन,’ समितिको बैठकमा श्रेष्ठले भने ।
भौतिक पूर्वाधारमन्त्री ज्वाला भने सबैभन्दा बढी संकटमा परेका छन् । जान्ने भएर त्यसदिन ग्वार्कोको बाटो नहिँडेको भए यत्रो घटना नहुने थियो ।
धेरैले मन्त्री प्रकाश ज्वालाकै कमजोरी देखाएका छन् । प्रहरी महानिरीक्षक बसन्त कुँवरले समेत मन्त्रीलाई दोष दिएकाले नैतिकताका आधारमा उनले तत्काल राजीनामा दिनुपर्ने आवाज उठेको हो । श्रेष्ठ माओवादी र ज्वाला एकीकृत समाजवादीका सांसद हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।