मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

जनताको असन्तुष्टि नातिनीसँग होइन, प्रचण्ड र माओवादीप्रति हो : नारायण गाउँले

जनताको असन्तुष्टि नातिनीसँग होइन, प्रचण्ड र माओवादीप्रति हो : नारायण गाउँले

  • मिडिया डबली
  • सोमवार, पौष २ २०८०

  • 5.2K
    SHARES

  • जनताको असन्तुष्टि नातिनीसँग होइन, प्रचण्ड र माओवादीप्रति हो : नारायण गाउँले

    बिहेको विरोध भएकै होइन । विवाह हिन्दु धर्मका १६ संस्कारमध्ये आफैमा ठूलो र महत्वपूर्ण संस्कार हो ।

    जीवनमा प्रायः एकपल्ट हुने र जीवन नै परिवर्तन गर्ने घटना भएकाले यसलाई आफूखुशी रङ्गीन र उत्सवमय बनाउन पाउनु सबैको अधिकार हो । हामीले ऋण लिएरै भए पनि, घरघडेरी बेचेरै पनि या एक छाक खाएरै भए पनि चाडपर्व र संस्कारहरूलाई 'भव्य' बनाउँदै आएका छौं ! पर्दा जन्ती र मर्दा मलामी भन्ने त हाम्रो उखान नै छ !

    विवाहमा हुने सजावट, बाजागाजा, जन्ती, भोजभतेर र रमझम विकृति होइन, संस्कृति हो ! एकदम सादा पाना जस्तो जीवन त कवितामा भव्य भए पनि व्यवहारमा 'बोरिङ्' नै हुन्छ । सबै धर्म र संस्कृतिका प्रायः सबै उत्सव र चाडमा खानपान र उपहार जोड़िएकै हुन्छ ।

    बिहेमा पनि हुन्छ । हाम्रो संस्कृतिमा कन्याको गोडा धोएर निम्तालुले नगद या जिन्सी उपहार दिने चलन थियो, त्यस्तो 'गोडधुवा' या 'गर्दुवा'लाई हामीले अपराधीकरण नै गर्यौं ! नगद या 'गिफ्ट-कार्ड'वाला पश्चिमी संस्कारचाहिँ मान्य भयो, सभ्य भयो । घरतिरकाले पनि बुहारीको मुख हेर्दा उपहार दिने चलन थियो ।

    प्रचण्डकी नातिनी हामी जत्तिकै नागरिक हुन् र हामीले आफ्नो बिहेलाई जस्तो बनाउन चाहन्छौं, त्यस्तै उनले पनि चाहनु उनको पूरा हक हो । हाम्रो समाजमा वरबधूको मात्रै नभई आमाबुबाले चाहेजस्तो विवाह हुँदै आएको छ, त्यो फ़रक कुरो भयो । देखिएको विरोध या असन्तुष्टि निरपराध नातिनीसँग होइन, प्रचण्डप्रतिको हो । माओवादीप्रति हो ।

    यस्तै विवाह र उत्सवलाई 'असामाजिक' भन्दै अपराधीकरण गर्दै आएको 'सिद्धान्त' र राजनीतिप्रति हो । आम जनता र कार्यकर्तालाई सामन्तवाद, साम्राज्यवाद, बुर्जुवा, अग्रगामी छलाङ् जस्ता शब्दजालमा पारेर आफ्नो मन र संस्कृति मार्दै मुड्की उठाएर विवाह गर्न लगाएका घटनाप्रति हो ।

    किरिया बस्न पनि नदिने सांस्कृतिक छलाङ्प्रति हो । आम जनतालाई जन्तीको सङ्ख्यासमेत तोक्ने, दशैमा दक्षिणा तोक्ने, यति बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भनेर तोक्नेजस्ता सांस्कृतिक हस्तक्षेपप्रति हो । यो विवाह त एउटा प्रसङ्ग मात्रै हो । कसैको 'निजी घटना'प्रतिको टिप्पणी या असन्तुष्टि पनि होइन यो ।

    आफ्नो सर्वश्व र जीवन नै पार्टी र देशलाई बुझाएको भनिएको व्यक्ति 'निजी' रहन्न । उसले प्रश्न झेल्नुपर्छ र उत्तर या आत्मालोचना गर्न पर्छ ! माओवादी हिंसाअघि विवाह भनेको सिङ्गो गाउँका लागि उत्सव हुन्थ्यो ।

    दुई हप्तादेखि दुनाटपरीका लागि पात टिप्ने र खुट्नेको चहल-पहल हुन्थ्यो । मण्डप र सजावटका लागि मान्छे जम्मा हुन्थे । अघिल्लो दिन बेलुकी जन्ती आउँथ्यो, रातभर नाचगान, अन्ताक्षरी, तास या अन्य मनोरञ्जन र भेटघाट हुन्थ्यो । गीत नै यस्तो हुन्थ्यो, 'नरोऊ नरोऊ ए दुलही नानी, आज होइन भोलि हो लैजानी' ! गाउँको 'अर्ग्यानिक नाइट-लाइफ' थियो यो । रातभर भजनकीर्तन र जागरण चल्थे । देउसीभैलो रात परेपछि नै सुरु हुन्थ्यो ।

    गाउँमा डर थिएन, शान्ति थियो । शङ्का-सन्देह र सुराकी भन्ने थिएन, छिमेकी र गाउँले हुन्थे । दश वर्षमा यो चित्र फेरियो । घाम डुबेपछि बाहिर निस्किन नसकिने भयो ।

    नातिनीजत्तिकै रमाइलो बिहे गर्नेहरू 'सामन्त' भए र तिनको घरमा बम खस्यो, जग्गामा झण्डा गाडियो र ती गाउँबाट विस्थापित भए । आपत् विपत् पर्दा दुई चार पैसा सरसापट दिन सक्नेहरू 'सामन्त' भनेर मारिएपछि या गाउँबाट लखेटिएपछि गाउँको अर्थतन्त्र नै धराशायी भयो । क्रमशः गाउँहरू रित्तिँदै गए ।

    आज बाँकी बचेका घरहरू बाँदरले लखेटिरहेछन् ! जुन आदर्श, जुन सिद्धान्त, जुन गन्तव्य र जुन नाराका लागि हजारौं निर्दोष नागरिकको ज्यान गयो, लाखौं मान्छे विस्थापित भए, अरबौंका पूर्वाधार ध्वस्त भए र लाखौंको शैक्षिक जीवन बर्बाद भयो, त्यही आदर्शबाट नेताहरू यू-टर्न भएपछि आमनागरिकमा उत्पन्न हुने आक्रोशलाई सामान्य मान्नुपर्छ ! कम्तिमा यो आक्रोश मण्डप नै भत्काइदिने, गर्दुवाको सामान नै लुटिदिने या किरिया बसेको व्यक्तिलाई नै थुतेर लगिदिने खालको हिंसात्मक छैन भन्नेमा खुशी हुनुपर्छ । युग र क्रान्ति बदलिएको छ भन्ने व्याख्या छ भने त्यो आमजनतालाई बुझाउनु पर्यो ।

    जबाफदेहिता र आफ्नो आदर्शमा अडिग जीवन नेताको गुण होइन, कर्तव्य हो । आमजनताले असन्तुष्टि पोख्न र प्रश्न गर्न पाउनु दया होइन, हक हो ! स्मरण रहोस्, कोभीड़ कालमा देशमा आम जनतालाई भेटघाट गर्न प्रतिबन्ध रहेको बेला बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको आफ्नै करेसाबारीमा चार-पाँच जना मन्त्री र सहयोगी जम्मा भएको फोटो बाहिर आउँदा उनीमाथि प्रश्न मात्रै उठेन, जागीर नै गयो । अर्का प्रधानमन्त्री ऋषि सुनकले कारको सिटमा बसेर सार्वजनिक महत्त्वको सानो भिडियो खिच्दा नागरिकको ध्यान उनले सिट-बेल्ट नबाँधेकोतिर गएपछि प्रश्न मात्रै उठेन, आर्थिक जरीबाना नै तिर्नुपर्यो । यस्तो हुन्छ, र हुनुपर्छ !

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २ २०८००२:४१:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend